नेकपा एकता, अझै भएन सहमति: आज शीर्ष नेताबीच छलफल हुँदै

122












काठमाडौं। सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता टुंगो लगाउन शीर्ष नेताका बीचमा छलफल भए पनि सहमति हुन सकेको छैन । निरन्तर छलफलमा रहेका शीर्ष नेताले सहमति खोज्ने प्रयास जारी राख्दै छलफललाई तीव्र बनाए पनि जिल्ला नेतृत्वका विषयमा ओली, दाहाल र नेपालका बीचमा विवाद कायम रहँदा सहमति बन्न नसकेको हो ।
एकता टुंगो लगाउन पार्टी अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल एवं महासचिव विष्णु पौडेललगायतका नेताहरू सक्रिय भएका छन् । सचिवालय सदस्य वामदेव गौतम, ईश्वर पोखरेल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापालगायतका नेताहरूका बीचमा छलफल भइरहेको छ । अध्यक्षद्वय ओली र दाहाल छिट्टै नै एकता टुंगो लगाउने भन्दै सचिवालयमा रहेका नेतासँग छुट्टाछुट्टै छलफलमा जुटेका छन् । तर, अझै सहमति हुन नसकेको नेकपा स्रोतले जनाएको छ ।

जिल्ला नेतृत्वको टुंगो लगाउने विषयमा सैद्धान्तिक सहमति खोज्ने प्रयास गरिरहेका नेताहरू सहमतिनजिक पुगेको स्रोतको दाबी छ । यद्यपि, छलफल चलि नै रहेको छ । छलफलमा वरिष्ठ नेता नेपालले मापदण्ड, विधि, प्रक्रिया, वरिष्ठताका आधारमा नेतृत्वको टुंगो लगाउनुपर्ने अडान राख्दै आएका छन् । लेनिन जयन्ती तथा पार्टी स्थापना दिवसको दिन पारेर पार्टीको तल्लो तहको एकता प्रक्रिया टुंगो लगाउने गरी छलफल भइरहेको नेकपा स्रोतको दाबी छ । आज (आइतबार) समेत शीर्ष नेताबीच छलफल हँुदै छ ।


नेकपाको अहिलेसम्ममा सचिवालय, केन्द्रीय कमिटी, प्रदेश कमिटी मात्रै गठन भएको छ । घोषणा भइसकेको प्रदेश कमिटीको विषयमा ओली, दाहाल र नेपालका बीचमा विवाद रहेको छ । केन्द्रीय सदस्यहरूको जिम्मेवारी बाँडफाँट, पोलिटब्युरो कमिटी गठन, विभाग, जनवर्गीय संगठनको एकता, जिल्लादेखि स्थानीय तहसम्मका कमिटीहरू अझै गठन हुन सकेका छैनन् ।
७७ जिल्ला कमिटीमध्ये ४५ तत्कालीन एमाले र ३२ माओवादी केन्द्रले नेतृत्व लिने समझदारी शीर्ष नेताका बीचमा भए पनि नेतृत्वका विषय अझै टुंगो लाग्न सकेको छैन । नेतृत्वको टुंगो लगाउने विधि, प्रक्रिया एवं मापदण्डमा केन्द्रित भई शीर्ष नेताका बीचमा छलफल भइरहेको छ ।

नेकपा स्थायी कमिटीका सदस्य गणेश साहले शीर्ष नेतृत्वबीच आन्तरिक गृहकार्य अन्तिम चरणमा पुगेको बताए । ढिलोमा ९ वैशाखभित्रमा एकता टुंगो लगाई घोषणा गर्ने तयारी रहेको उनले बताए ।
३ जेठमा तत्कालीन एमाले र माओवादी केन्द्रबीचको एकता घोषणा सभालाई सम्बोधन गर्दै ओली, दाहाल, नेपालसहितका शीर्ष नेताले तीन महिनाभित्रमा एकता टुंगो लगाउने उद्घोष गरेका थिए । तर, ११ महिना पुग्दासमेत अहिलेसम्म एकताको टुंगो लाग्न सकेको छैन ।
एकता टुंगो लाग्न भइरहेको ढिलाइले त्यसको प्रभाव पार्टीका साथै सरकार सञ्चालनमा समेत भइरहेको छ भने पार्टीको बैठक, प्रशिक्षण, भेलालगायतका गतिविधि अहिले शून्यजस्तै भएको छ । जिम्मेवारी बाँडफाँट एवं एकता टुंगो लाग्न नसक्दा नेता कार्यकर्ता नै बेरोजगार भएका छन् । – राजधानी दैनिकबाट



You might also like
Loading...