रूखको हाँगाले लागेर मृत्यु
पर्सामा जंगलमा रूख काट्न गएका ३ मध्ये एकको आफैँले काटेको रूखको हाँगाले लागेर मृत्यु भएको छ।
दाउराका लागि भनी पर्साको पर्सागढी नगरपालिका ३ स्थित हातीवन जंगलमा रूख काट्न गएका ३ मध्ये एकको मृत्यु भएको हो।
दाउराका लागि भनी जंगलमा गएकामध्ये वीरगन्ज महानगरपालिका २९ बसडिल्वाका सुरेश हजराको आफैँले काटेको रूखको हाँगाले लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
मृतक हजारालाई पोष्ट मार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाइएको इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीका प्रहरी निरीक्षक आशिष अधिकारीले बताए।प्रहरीलाई जानकारी आएपछि घटनास्थल पर्साका पर्सागढी ३ जंगल क्षेत्रमा जाँदा घटना भएको ठाउँभन्दा १ डेढ किलोमिटर वर उनको शव फेला परेको हो। घाइते भएका हजारालाई उनका साथीले उपचारको लागि भनी ल्याउँदै गर्दा उनको बाटोमा नै मृत्यु भएपछि त्यहि छोडेका रहेछन्।
स्थानीयले खबर गरेपछि प्रहरी घटनास्थलमा गई जाँचबुझ गर्दा प्रहरीलाई जानकारी आए जस्तै घटनाको अवस्था देखिन्छ।
हातीवन जंगलमा गई उनीहरूले काटेको रूख अर्को रूखमा अड्केपछि त्यहाँबाट छुटाउने क्रममा हाँगाले लागेको पनि प्रारम्भिक अनुसन्धानमा देखिएकोले थप जानकारीका लागि चिकित्सकको रिपोर्ट आवश्यक पर्ने प्रहरी निरीक्षक अधिकारीले बताए।