कर्णालीबासीलाई लुम्बिनी घुम्न आउन प्रदेश ५ को निम्तो


बुद्ध जन्मस्थल लुम्बिनी जाऔं, शान्तिको सन्देश फैलाऔं भन्ने मुल नाराका साथ लुम्बिनी भ्रमण वर्ष मनाउन लागेको प्रदेश ५ सरकारले कर्णाली प्रदेशबासीलाई लुम्बिनी घुम्न आउन निम्तो दिएको छ ।




कर्णाली प्रदेशको राजधानी सुर्खेतमा लुम्बिनी भ्रमण वर्ष २०७६ प्रचारप्रसार उपसमितिले पत्रकार सम्मेलन गर्दै बुद्ध जन्मस्थल लुम्बिनी भ्रमणका लागि कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढामार्फत प्रदेशबासीलाई निम्तो दिएको हो ।
कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री बुढालाई प्रदेश ५ सरकारको तर्फबाट भ्रमणको निम्तो लिएर आएको प्रचारप्रसार उपसमितिका सचिवालय सदस्य प्रदीप आचार्यले प्रदेशबासीमा निमन्त्रणा सन्देश पु¥याउन अनुरोध गरे ।

लुम्बिनी भ्रमणको निम्तो ग्रहण गर्दै कर्णाली प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले लुम्बिनी भ्रमण वर्ष सफल पार्नका लागि कर्णाली प्रदेश सरकारले पूर्णरुपमा सहयोग गर्ने बताए ।
‘आन्तरिक र बाह्य पर्यटक भित्राउनका लागि कर्णाली प्रदेश सरकारले पूर्ण रुपमा साथ दिनेछ, उनले भने– म पनि समय मिलाएर लुम्बिनी घुम्न आउनेछु, लुम्बिनीको बारेमा धेरै जानकारी लिनुपर्नेछ ।’


मन्त्री बुुढाले बुद्ध जन्मस्थल लुम्बिनीबाट विश्वभर शान्तिको सन्देश फैलाइरहेको भन्दै लुम्बिनी र बौद्धस्थलहरुसँग जोडेर कर्णाली प्रदेशका काक्रेविहारलगायत बौद्धस्थलहरुको प्रवद्र्धनका लागि कर्णाली प्रदेश सरकारले कार्यक्रम ल्याउने बताए ।
कर्णाली रारा भ्रमण वर्ष मनाएर धेरै कुरा सिक्ने मौका पाएको भन्दै उनले आगामी दिनमा कर्णालीमा पर्यटक आगमन वृद्धि भएको र आगामी दिनमा प्रवद्र्धनात्मक कार्यक्रमका साथसाथै भौतिक पूर्वाधार विकासमा समेत जोड दिने बताए ।

मन्त्री बुढाले कर्णाली प्रदेशका पर्यटकीय स्थलहरुको अभिलेख र तथ्यांक संकलनलाई व्यवस्थित गर्नेमा जोड दिदै छिटै नै कर्णालीका १ सय १ वटा पर्यटकीय स्थलहरु घोषणा गर्ने र ती स्थलहरुको भौतिक पूर्वाधार र प्रवद्र्धनको कार्यक्रम थाल्ने बताए ।
कर्णाली प्रदेशमा बौद्धगुम्बा र पर्यटकीय स्थलहरु रहेको भन्दै मन्त्री बुढाले लुम्बिनीसँग जोडेर प्रचारप्रसार गर्ने र पर्यटक आगमनलाई वृद्धि गर्ने बताए ।
प्रदेश ५ सरकारले गरेका राम्रा कामहरुको अनुसरण गर्दै कर्णाली प्रदेश सरकारले प्रदेशभित्रका पर्यटकीय स्थलहरुको प्रवद्र्धनका लागि काम गर्ने मन्त्री बुढाले बताए ।




सम्बन्धित
Loading...