महिला कुट्नेलाई छाडेको भन्दै प्रशासनमा धर्ना

835












कावासोती । महिला कुट्नेलाई छाडेको भन्दै स्थानीयले जिल्ला प्रशासन कार्यालय नवलपुर अगाडि धर्ना दिएका छन् ।
पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका २ कोल्हुवामा महिलालाई कुटपिट गर्ने अर्जुन चौधरीलाई कारवाही नगरी धरौटीमा रिहा गरेको भन्दै उनीहरुले विरोध गरेका हुन् ।
मध्यबिन्दु २ का वडाध्यक्ष नारायण पौडेल, स्थानीय अगुवा श्रीधर शर्मा लगायतको नेतृत्वमा आएको टोलीले प्रशासन अगाडि धर्ना दिएका हुन् ।
त्यसैगरी जिल्ला अदालतमा पनि धर्ना दिएका थिए ।
गत बैशाख ५ गते कोल्हुवाका अर्जुन चौधरीले सामान्य विवादका विषयलाई लिए एक महिलालाई कुटपिट गरेपछि स्थानीय महिलाहरुले चौधरीलाई कारवाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका थिए ।
पीडित महिलाले प्रहरीमा उजुरी दिएपछि पीडक चौधरीलाई प्रहरी कार्यालय नवलपुरमा थुनामा राखेको थियो । तर सरकारी वकिलको कार्यालय नवलपुरको राय अनुसार जिल्ला प्रशासन कार्यालय नवलपुरले ३० हजार धरौटी माग गरी तारेखमा रिहा गरेको थियो ।
दोषीलाई कारवाही नगरी सामान्य धरौटीमा थुनामुक्त गरेको भन्दै उनीहरुले आक्रोस समेत पोखेका थिए ।
स्थानीय बासिन्दा र महिलाहरुको टोलीले चौधरीलाई कारबाही हुनुपर्ने, पीडित महिलालाई न्याय हुुनुपर्ने र उपचारको व्यवस्था गर्नु पर्ने माग सहित धर्ना दिएको थियो ।
धर्ना पछि सहायक प्रमुख जिल्ला अधिकारी आनन्द भुषालले आगामी आइतबार पीडक र पीडित दुबै पक्षलाई राखेर टुँगो लगाउने आश्वासन दिएको वडाध्यक्ष नारायण पौडेलले बताए ।
कुटपिटबाट घाइते महिलाको टाउको, ढाड र खुट्टामा चोट लागेको छ ।



You might also like
Loading...