गाजा द्वन्द्वः रकेट आक्रमण र इजरायली हवाई हमला तिव्र

147








जेरुसेलम । प्यालेस्टाइनको गाजा क्षेत्रमा इजरायलले हवाई हमला र ट्यांकबाट लगातार हवाई हमला तिव्र पारेको छ । गाजा क्षेत्रबाट हमास समूहले इजरायली क्षेत्रमा सयौं मिसाइल प्रहार गरेपछि त्यसको जवाफमा इजरायलले पनि हवाई हमला र ट्यांकका माध्यमबाट गोली प्रहार गरेको बताइएको छ ।

पछिल्लो हवाई हमलाका घटनाले पुनः यस क्षेत्रमा तनावको अवस्था सिर्जना भएको छ ।




प्यालेस्टाइनी लडाकू समूह हमासले इजरायली भूमिमा करिब ४ सय ५० भन्दा बढी रकेट प्रहार गरेको बताइएको छ । यी हवाई हमलामा परी ३ जना इजरायली नागरिकको मृत्यु भएको छ । इजरायली पक्षले पनि प्यालेस्टाइनी भूमिमा करिब २ सय २० वटा मिसाइल प्रहार गरेको छ । शुक्रबारदेखि बढेको तनावका क्रममा ८ जना प्यालेस्टाइनी नागरिकको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आइतबार इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हमास समूहलाई लक्षित गरी ठूलो मात्रामा हवाई कारबाही गर्न सेनालाई निर्देशन दिएका छन् । गाजा पट्टिबाट इजरायलतर्फ भएको रकेट प्रहारको प्रतिक्रिया स्वरुप सो आदेश दिइएको बताइएको छ ।

गाजा पट्टिमा रहेका आतंककारी तत्व भीषणरुपमा हवाई आक्रमण गर्नको लागि नेतान्याहुले मन्त्री मण्डलको छलफलको शुरुमा नै बताएका छन् । गाजाको सीमा इलाकामा पर्ने इजरायलको आसकेलोन सहरमा गाजातर्फबाट रातभर भएको रकेट आक्रमणमा परी ५८ वर्षीय एक इजरायली नागरिकको मृत्यु भएको इजरायली प्रहरीले जानकारी दिएको छ ।

गत महिनामात्रै दुई देशबीच शान्ति स्थापनाका लागि सहमति भएको थियो । इजिप्ट र संयुक्त राष्ट्रसंघले यो क्षेत्रमा लामो समयको युद्धविरामका लागि कोशिस गरिरहेका बेला यो हिंसा भड्किएको हो ।

शुक्रबार गाजा क्षेत्रमा नाकाबन्दीका विरुद्ध भएको प्रदर्शनपछि तनाव चुलिएको हो । इजरायलले लडाकू समूहलाई हतियारको पहुचमा पुग्न रोक्नुपर्ने बताएको थियो । एक प्यालेस्टाइनी बन्दुकधारीले गोली प्रहार गरी एक इजरायलीको हत्या गर्नुका साथै दुई सैनिकलाई घाइते बनाएका थिए ।

त्यसको जवाफमा इजरायलले गरेको कारबाहीमा २ प्यालेस्टीनी लडाकूको मृत्यु भएको थियो । शनिबार बिहानैबाट गाजा क्षेत्रबाट लडाकूले क्षेप्यास्त्र प्रहार गर्न सुरु गरेका थिए ।

इजरायलको आइरन डोम मिसाइल प्रतिरक्षा प्रणालीले दर्जनबढी रकेट खसालेको थियो । तर केही रकेटहरु इजरायलका सहर र गाउँमा खसेका थिए ।

गाजा नजिकै रहेको एक अस्पतालले पछिल्लो २४ घन्टामा १ सयभन्दा बढी घाइतेको उपचार गरेको जनाएको छ । त्यसमध्ये ३ जनाको मृत्यु भएको छ भने अन्य तीन जना गम्भीर घाइते छन् । अन्य दर्जनौं घाइतेको पनि उपचार गरिएको छ ।

शनिबार र आइतबार इजरायली सेनाले हमासलाई लक्षित गर्दै गाजा क्षेत्रमा लगातार हवाई हमला गरेको थियो । हमासको नियन्त्रणमा रहेको गाजा क्षेत्रमा एक १४ महिनाकी नाबालिका र उनकी आमाको मृत्यु भएको प्यालेस्टाइनी अधिकारीहरुले जनाएका छन् ।

तर इजरायली सेनाले उनीहरुको मृत्यु प्यालेस्टाइनी क्षेत्रबाट आएको रकेटबाट उनीहरु मारिएको दाबी गरेको छ । आइतबारको हमलामा हमासका कमाण्डर हामिद हमदान अल–खोदारी मारिएको इजरायली सेनाले दाबी गरेको छ ।

इजरायली हवाई हमलामा गाजा क्षेत्रमा रहेको एउटा ठूलो भवन पनि क्षतिग्रस्त भएको छ । इजरायलले हमासको गुप्तचर भवन भएको दाबी गरेको छ ।

टर्कीले इजरायलले गरेको यो हमला मानवताविरुद्धको अपराध भएको बताएको छ । टर्कीका विदेशमन्त्री मेभलेट काभुसोग्लुले त्यहाँ टर्कीको सरकारी समाचार एजेन्सी अनादोलुको कार्यालय रहेको जनाएका छन् ।

सन् २०१४ को तनावपछि पहिलो पटक गाजा क्षेत्रबाट यसप्रकारको घातक रकेट हमला भएको हो । त्यसबेला तीन जना किशोरको अपहरण र हत्यापछि प्यालेस्टाइनको गाजा क्षेत्रमा भीषण हमला गरेको थियो । सो क्रममा ६७ जना इजरायली सेना मारिएका थिए ।

हमास र उसको गठबन्धनले ४ हजार ५ सयभन्दा बढी हवाई हमला गरेका थिए । जसमा परि ६ जना सर्वसाधारणको पनि मृत्यु भएको थियो । प्यालेस्टाइनी पक्षतिर ठूलो क्षति भएको थियो । सात हप्तासम्म चलेको यो तनावका क्रममा १ हजार ४ख सय ६२ जना सर्वसाधारणसहित २ हजार २ सय ५१ जना मारिएका थिए । – एजेन्सी



You might also like
Loading...