प्रदेश नं ५ को प्रदेशसभाले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न सकेन


बुटवल,२२ बैशाख 
प्रदेशसभाको तेस्रो अधिवेशन सकिदा समेत प्रदेश नं ५ को प्रदेशसभाले प्रदेशको नामाकरण र स्थायी राजधानी तोक्न सकेन । प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्न सुझाव दिन गठीत प्रदेशसभाको बिशेष समितिले प्रतिवेदन पेश गर्न नसकेका कारण तेस्रो अधिवेशन सकिदा समेत नामाकरण र स्थायी मुकाम तोक्ने प्रक्रिया पछि धकेलिएको छ ।



सुझाव संकलन कार्य सकेर विशेष समिति मातहतको उपसमितिले प्रतिवेदन दिएपनि मुल समितिले अन्तिम रुप दिन नसकेपछि सो प्रक्रिया पछाडी धकेलिएको हो ।
शनिबार बसेको बिशेष समितिको बैठकले आइतबार बिहान पुन बैठक बसेर आजै प्रतिवेदन बुझाउने तयारी गरे पनि अन्तिम समयमा आएर समितिले प्रतिवेदन बुझाउने समय पछि सारेको हो । कार्यबिधिमा रहेको विज्ञहरुको राय सुझाव लिने प्रावधानमा टेकेर समितिले प्रतिवेदन बुझाउने समय पछाडी धकेलेको हो ।

आइतबार बिहान बसेको समितिको बैठकले बैठकले प्रदेशको नामाकरण र स्थायी मुकाम तोक्ने बिषयमा विज्ञहरुको राय सुझाव लिएर मात्रै समितिले आफ्नो प्रतिवेदनलाई अन्तिम रुप दिने निर्णय गरेको समितिका सभापति दिपेन्द्र कुमार पुनले जानकारी दिए । समितिको निर्णय बारे आजै प्रदेशसभा सचिवालयलाई जानकारी गराइएको सभापति पुनले बताए ।
प्रदेशसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुँदैछ । प्रदेशसभाको चालु तेस्रो अधिवेशन सकिए पनि विज्ञहरुको राय सुझाव लिएर अर्को अधिवेशन अगाडीनै समितिले आफ्नो प्रतिवेदन प्रदेशसभा सचिवालयलाई बुझाउन सकिने सभापति पुनले जानकारी दिए ।
तेस्रो अधिवेशन आजै सकिने र त्यसलगत्तै बजेट अधिवेशन सुरु हुने भएकाले सो अधिवेशनमा राजधानीको विषयले प्रवेश नपाउने कतिपय सांसदहरुकै आशंका छ ।




उपसमितिले दिएको प्रतिवेदनमा प्रदेशको राजधानीका लागि दाङकालागि सबै भन्दा बढि सुझाव परेको बताइएको छ । प्रदेशका १२ वटै जिल्लाबाट संकलन भएका १३ सय १३ सुझावहरु मध्ये सबैभन्दा बढी दाङको पक्षमा ५ सय ५३ वटा सुझाव परेको र अस्थायी मुकाम रहेको रुपन्देहीको पक्षमा ३५० वटा प्रस्ताव आएको बताइएको छ ।

नामाकरणका बिषयमा भने लुम्बिनीको पक्षमा सबै भन्दा बढी ६५६,मगरात–थरुहटको पक्षमा २१७,बुद्धभूमिको पक्षमा १६३,स्वर्गद्धरारी र बागेश्वरीको पक्षमा ५१÷५१ सुझाव परेको जनाइएको छ ।



सम्बन्धित
Loading...