आइपिएल क्रिकेट : प्ले अफ समीकरण पूरा, अंक तालिकाको पहिलो नम्बरमा मुम्बई

142












काठमाडौं : इण्डियन प्रिमियर लिग आइपिएल क्रिकेटको प्लेअफ समीकरण पूरा भएको छ। प्लेअफ समीकरण पूरा भएसँगै अंक तालिकामा मुम्बई इण्डियन्स पहिलो नम्बरमा पुग्न सफल भएको छ।

त्यस्तै, चेन्नई सुपर किंग्स, दिल्ली क्यापिटल्स र सनराइजर्स हैदराबाद क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन्। शीर्ष तीनवटा टिमको समान १८ अंक छ भने हैदराबादको १२ अंक छ।

हैदराबादको गएरातिको खेलबाट प्लेअफ टुंगो लागेको हो भने मुम्बई गएराति नै कोलकाताविरुद्ध जित निकाल्दै शीर्ष स्थान उक्लिन सफल भएको हो। नेपाली बलर सन्दीप लामिछाने आवद्ध दिल्ली क्यापिटल्स भने तेस्रो स्थानमा झरेको छ। हैदराबादसँग समान १२ अंक रहेका कोलकाता नाइट राइडर्स र किंग्स इलाभेन पञ्जाव नेट रनरेटका आधारमा प्लेअफ पुग्न सकेनन्।

लिग चरणको अन्तिम खेलमा मुम्बईले गएराति कोलकातालाई ९ विकेटको भारी अन्तरले पराजित गर्यो। कोलकाताले २० ओभरमा सात विकेट गुमाउँदै १३३ रन बनाएको थियो। जवाफमा मुम्बईले १६.१ ओभरमै एक विकेटको क्षतिमा लक्ष्य प्राप्त गर्‍यो।

मुम्बईका लागि क्वीन्टन डिककले ३०, रोहित शर्माले अविजित ५५ र सुर्यकुमार यादवले अविजित ४६ रनको योगदान दिए। क्वालिफायरका लागि भोलि मुम्बई इन्डियन्स र चेन्नई सुपर किंग्स बीच प्रतिस्पर्धा हुँदैछ। दिल्ली र हैदराबादले भने इलिमिनेटरका लागि पर्सी प्रतिष्पर्धा गर्नेछन्।




You might also like
Loading...