एसईईको प्रश्नपत्र आउट गर्ने दुई प्रहरी जवान कारागार चलान
माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षाअगावै प्रश्नपत्र आउट गर्ने दुई जना प्रहरी जवानलाई पुर्पक्षका लगि कारागार चलान गरिएको छ । ६ जनालाई भने धराटीमा रिहा गर्न अदालतले आदेश दिएकाे छ ।
सिरहा जिल्ला अदालतका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको एकल इजलाशले प्रश्नपत्र आउट गर्ने कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका प्रहरी जवानद्वय व्रह्मदेव यादव र दीपेन्द्र मण्डललाई पुर्पक्षका लागि कारागार पठाउन आदेश दिएको हो ।
इलाका प्रहरी कार्यालय, कल्याणपुर सिरहामा कार्यरत रहेका बेला दुवै जनाले प्रश्न पत्र आउट गराएका थिए । दुई जनालाई १ लाख ५० हजार र चार जनालाई १ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न पनि जिल्ला अदालत, सिरहाले आदेश दिएको छ ।
उक्त कार्यमा संलग्न रहेको आरोपमा पक्राउ परेका सप्तरीको राजविराज नगरपालिका १० निवासी विष्णुदेव यादव र अरोजकुमार यादवलाई जनही एक लाख ५० हजार रुपैयाँ तथा राजविराज १६ निवासी शिक्षक मनोज यादव, सप्तरीकै हनुमाननगर कंकालनी नगरपालिका १ निवासी १७ वर्षीय राजेश यादव, १७ वर्षीय उमेश यादव र ताराकान्त इसरलाई जनही एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न अदालतले आदेश दिएको हो । पक्राउ परेकामाथि प्रहरीले सरकारी लिखत कीर्ते र परीक्षा मर्यादाविपरीत कार्यसम्बन्धी मुद्दा चलाएको छ ।