ललिता निवास प्रकरण संसदमा सत्ता र प्रतिपक्षको जुहारी

174












काठमाडौं। ललिता निवास जग्गा अतिक्रमणको विषयले संघीय संसद्को प्रतिनिधिसभामा प्रवेश पाएको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफलको क्रममा नेकपा महासचिव विष्णु पौडेलले यो विषयलाई संसद्मा प्रवेश गराएका हुन् ।
सरकारको नीति तथा कार्यक्रमको विषयमा आफ्ना धारणा राख्नुअघि नेपाल कम्युनिस्ट पार्टीका महासचिव पौडेलले ललिता निवास प्रकरणका विषयमा आफ्नो धारणा सार्वजनिक गरेका हुन् । उनले आफ्नो नामसमेत जोडिएकाले निष्पक्ष छानबिन गर्न सरकारलाई अनुरोध गर्दै आफू दोषी भेटिए जस्तोसुकै कारबाही भोग्न पनि तयार रहेको बताए ।
‘ललिता निवास जग्गा प्रकरणका सम्बन्धमा मलगायत पूर्वप्रधानमन्त्रीहरू शेरबहादुर देउवा, माधवकुमार नेपाल र बाबुराम भट्टराईका नाम आएका छन् । वर्तमान सरकारले गैरकानुनी तवरमा व्यक्तिका नाममा रहेका सरकारी जग्गा सरकारको स्वामित्वमा फर्काउन चालेको कदमलाई स्वागत गर्दछु,’ उनले भने, ‘यस प्रकरणमा म दोषी ठहर भए कारबाही भोग्न तयार भएको अवगत गराउन चाहन्छु ।’

यस्तै, सरकारले ललिता निवास प्रकरणमा नेकपा महासचिव पौडेलको नाम मुछिएर आएकोमा कारबाही हुने कि नहुने भनी कांग्रेस महामन्त्री शशांक कोइरालाले संसद्मा प्रश्न गरे । ‘सरकारी जग्गा नेकपाकै नेताको नाममा गएको जस्तो गम्भीर विषयमा सरकारले के गरिरहेको छ ?,’ उनले प्रश्न गरे, ‘नेकपाकै सरकार भएकाले आफ्नो नेतामाथिको कारबाही कसरी र कहिले हुने हो जानकारी गराउन आग्रह गर्दछु ।’ उनले सरकारी जग्गा जोसुकैको नाममा भए पनि त्यस विषयमा गम्भीर रूपमा निष्पक्ष अध्ययन अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरे ।


यस्तै, सरकार जनताप्रति उत्तरदायी भएको महसुस गरेको भन्दै नकपा महासचिव पौडेलले सरकारले ल्याएको विषयलाई सफल बनाउनेतर्फ सबै दलले सहयोग गर्नुपर्ने बताए । ‘यस वर्षको नीति तथा कार्यक्रमले एक थान नीति कार्यक्रम प्रस्तुत गरेर मात्र जिम्मेवार पूरा हुँदैन,’ उनले भने, ‘यसको कार्यान्वयनका विषयमा जोड दिएकोले संसद्प्रति जवाफदेहिता रहेको महसुस गरेको छु ।’ उनले सरकारले संसद्प्रति उत्तरदायी भएर काम गर्नुपर्ने धारणा राखे । उनले गत वर्ष ‘समृद्ध नेपाल, सुखी नेपाली’का आधारहरू तयार भएको बताए । ‘हामी नीतिगत हिसाबमा दुविधारहित स्थितिमा आएका छौं,’ उनले भने, ‘हाम्रो गन्तव्य स्वतन्त्र स्वाधीन राष्ट्र हो र नेपालको हितलाई केन्द्र भागमा राखेर रेलमार्गका माध्यमबाट दक्षिण र उत्तरी राष्ट्रसँग थप सम्बन्ध स्थापित गर्छ भन्ने हो । हामी ट्रेड ट्रान्जिटका लागि उत्तरी नाका पनि खुला भएको छ ।’

यसैगरी, सरकारले ल्याएको नीति तथा कार्यक्रम जनतामा भ्रम छर्ने किसिमको भएको कांग्रेस महामन्त्री कोइरालाले बताए । उनले सरकारको नीति तथा कार्यक्रमको सम्बोधनमा राष्ट्रपतिले ‘मेरो सरकार’ भनेकीमा आपत्ति जनाए । उनले नीति तथा कार्यक्रमको सम्बोधनमा ‘मेरो सरकार’ भन्ने शब्दावलीले पुरानै अधिनायकवादी शासकहरूको मनोवृत्तिलाई झल्को दिएको दाबी गरे । उनले राष्ट्रपतिको मेरो सरकार भन्ने सम्बोधनले अधिनायकवादी चरित्रको पक्षपोषण गर्छ भन्ने आफ्नो निष्कर्ष रहेको बताए । ‘वर्तमान सरकार कुनै व्यक्तिको सरकार होइन । न त राष्ट्रपतिले भनेजस्तै उनको सरकार हो,’ उनले भने, ‘यो त सबै खालको तानाशाही, निरंकुशता र अधिनायकवाद अन्त्य गरी स्थापना गरिएको सरकार हो ।’

महामन्त्री कोइरालाले सरकारको नीति तथा कार्यक्रम यथार्थपरक, वस्तुनिष्ठ र तर्कसम्मत नभएको दाबी पनि गरे । सरकारको नीति तथा कार्यक्रममा सरकारको कामको मात्रै प्रसंशा गरिएको उनको आरोप छ । उनले सरकारको नीति तथा कार्यक्रममा समावेश गरिएका योजना तथा नीतिहरूमा विश्वसनीयता नदेखिएको बताए । उनीसँगै कांग्रेस नेता प्रदीप गिरीले सरकारले ल्याएको नीति तथा कार्यक्रम न्यूनतम आधारभूत सेवामा भन्दा महत्वाकांक्षी योजनामा केन्द्रित भएको भन्दै सरकारको आलोचना गरेको राजधानी दैनिकमा खबर छ।

 



You might also like
Loading...