प्रदेश सरकार आएपछि जनताले सरकार देखेः मुख्यमन्त्री गुरुङ


पोखरा, २४, बैशाख । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले २ सय ५० वर्षअघि निर्माण भएको सरकार छ भन्ने जनताले अनुभूत गर्न नपाएको दाबी गरेका छन् । प्रदेश सरकारको लगानीमा पोखरा २३ ठूलाखेतमा बन्न लागेको पुलको सिलन्यास गर्न पुगेका मुख्यमन्त्री गुरुङले संघीयता पछि अहिले प्रदेश र स्थानीय सरकार जनताको घर घरमा सरकारलाई अनुभूत गर्न पाएको बताएका छन् ।



मुख्यमन्त्री गुरुङले पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गरेपछि काठमाडौंमा बनेको सरकारको शासन पद्धति नै अहिलेसम्म चलिरहेको बताउदै उनले भने, ‘अलिकति अधिकार हेरफेर भयो होला नत्र त सरकार उही छ ।’ उनले यसअघि बनेको सरकारले खहरे खोला संरक्षण गर्न कुनै सरकारले पहल नगरेको र त्यसलाई पूरा गर्न प्रदेश सरकार आएको सुनाए ।

‘पोखरा फेवाताल बेचेरै बाँचिरहन्छ,’ उनले भने, ‘अनि पोखराले फेवाताल अतिक्रमण गरेर हुन्छ ?’ फेवाताल संरक्षणमा आजसम्म कतैबाट पहल नभएको भन्दै मुख्यमन्त्री गुरुङले आक्रोश पोखे । ‘आजसम्म फेवाताल संरक्षण गर्ने कुनै कोही जन्मेको छैन,’ उनले भने, ‘फेवाताल संरक्षणमा सर्वोच्चको आदेश पालना गर्न, फेवातालको मापदण्ड कायम गरेर नयाँ संरचना निर्माण गर्न आखिर प्रदेश सरकार नै चाहिदो रै’ छ ।’




उद्घाटन समारोहमा गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेत, प्रदेश सांसद राजीव पहारी, रामजी बराल, पोखरा महानगरपालिका वडा नम्बर २३ का वडा अध्यक्ष विष्णु पराजुली जिल्ला समन्वय समितिका प्रमुख बैनबहादुर अधिकारी क्षेत्री, पोखरा महानगर –२४ का वडाध्यक्ष ओमप्रसाद सुबेदी लगाएतले पुल निर्माण पछि स्थानीय र विदेशी पर्यटकलाई समेत टेवा पुग्ने बताए । प्रदेश सरकारको ६ करोड ७५ लाख लगानीमा पुल निर्माणको जिम्मा निलगिरी कन्स्ट्रक्सनलाई दिएको छ ।



सम्बन्धित
Loading...