विद्यालयहरुमा किशोरीहरुलाई स्वास्थ्य परीक्षण
कावासोती । नवलपरासीको कावासोती नगरपालिकाले विद्यालयहरुमा किशोरीहरुको स्वास्थ्य परीक्षणका लागि स्वास्थ्य जाँच कार्यक्रम शुरु गरेको छ ।
कावासोती १ स्थित जनकल्याण माध्यमिक बिद्यालयका ११ देखि १९ बर्षका किशोरीहरुको स्वास्थ्य जाँच गरी कार्यक्रम थालनी गरिएको हो ।
किशोरीहरुको पोषण सम्बन्धि अवस्था पत्ता लगाइ बिद्यालय पोषण कार्यक्रम सञ्चालन गर्नका लागि स्वास्थ्य जाँच गरिएको कावासोती नगरपालिकाकी स्वास्थ्य सहसँयोजक सिनियर अनमी चन्द्रकला भट्टराइले जानकारी दिए ।
त्यस्तै किशोरीहरुको स्वास्थ्य जाँच कार्यक्रम बहुक्षेत्रीय पोषण कार्यक्रम लागु भएका नौ वटा वडाहरु १, ७, ८, १०, ११, १२, १३ , १५ र १७ का एक एक बिद्यालयहरुमा सञ्चालन गरिने पनि उनले बताए ।
कार्यक्रमको पहिलो दिन कावासोती १ को जनकल्याण माध्यमिक बिद्यालयमा मँगलबार १२१ किशोरीहरुको स्वास्थ्य जाँच गरिएको छ । स्वास्थ्य जाँच गरिएका किशोरीहरु मध्ये १० जना किशोरी कुपोषणबाट ग्रसित भएको भेटिएका छन् ।