गैडाकोटमा गैडाको आक्रमणबाट दुई जना घाइते
कमल कुवँर
गैडाकोट । पूर्वी नवलपरासीको गैडाकोट नगरपालिकामा चितवन राष्ट्रिय निकुञ्जबाट आएको गैडाको आक्रमणमा परी दुई जना घाइते भएका छन् ।
गैडाको आक्रमणमा परी गैडाकोट २ बस्ने ५५ बर्षका आइतबहादुर बोटे गम्भीर घाइते भएका छन् । उनी वनका कर्मचारी समेत हुन् । उनलाई मझुवा सामुदायिक वनमा डिउटीमा हिडिरहेको बेला गैडाले आक्रमण गरेको गैडाकोट प्रहरीले जनाएको छ । उनको घाँटी र टाउकोमा गम्भीर चोट लागेको छ ।
त्यसैगरी गैडाकोट ५ बस्ने ५१ बर्षीय बुद्ध गुरुङ्ग पनि गैडाको आक्रमणमा परी गम्भीर घाइते भएका छन् । उनलाई बाटोमा हिडिरहेको अवस्थामा गैडाले आक्रमण गरेको थियो ।
घाइतेहरुको चितवनको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको गैडाकोट प्रहरीले जनाएको छ ।
हिजो दिउँसो देखि गैडाकोटमा आतंक मच्चाईरहेको गैडालाई अहिले प्रहरी स्थानीयबासी, वन कर्मचारी र चितवन राष्ट्रिय निकुञ्जका कर्मचारीहरु मिलेर निकुञ्जतर्फ धपाएको जनाएको छ ।