५ बर्षीया बालिका बलात्कार गर्नेलाई १६ बर्ष कैद फैसला
दाङ, वैशाख ३० । बलात्कार कसुरमा एक जनालाई अदालतले १६ बर्षको कैद फैसला सुनाएको छ । एकजना पाँच वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा दाङ देउखुरी जिल्ला अदालतले १६ बर्षको कैद फैसला सुनाएको हो ।
घोराही उपमहानगरपालिका वडा नं. २ निवासी १८ वर्षीय मुकेश विकलाई बलात्कारमा कसुरदार ठहर गर्दै १६ वर्ष कैदको फैसला अदालतले गरेको छ । जिल्ला न्यायाधीश हेमन्त रावलको इजलासले शुक्रवार कसुर ठहर गर्दै विकलाई १६ वर्ष कैद र पीडितलाई स्थानीय तहबाट ५० हजार क्षतिपूर्ती उपलव्ध गराउने फैसला गरेको थियो ।
कसुरदारको जायजेथा केही नभएकाले पीडितलाई स्थानीय तहबाट क्षतिपूर्ती उपलव्ध गराउने फैसला गरिएको छ। विकले पाँच बर्षीय वालिकालाई गत माघ महिनामा बलात्कार गरेको प्रहरी समक्ष उजुरी परेको थियो । त्यही मुद्दा उपर फैसला सुनाउँदै अदालतले विकलाई १६ बर्ष कैदको फैसला सुनाएको हो ।
बलात्कारको अभियोगमा पक्राउ त्यस्तै घोराही वडा नं. १५ स्वर्गद्धारी टोल निवासी ४६ बर्षीय ऋषिराज आचार्यलाई पनि बालिका बलात्कारको अभियोग लागेको छ । आचार्य माथि एकजना ११ बर्षीया बालिकालाई जवरजस्ती बलात्कार गरेको जोहरी परेपछि उनी हाल थुनामा छन् । प्रहरीले आफ्नो तर्फ वाट अनुसन्धान पुरा गरि आचार्य दोषी देखिएको भन्दै १४ देखि १६ वर्ष कैद र पीडित बालिकालाई क्षतिपुर्ती भराउन मागसहितको मिसिल सरकारी वकिलको कार्यालयमा पठाएको छ ।
जिल्ला प्रहरी प्रवक्ता तथा डिएसपी विनोद विक्रम शाहले सोमवार प्रहरीले अनुसन्धान सकेर उक्त मागसहित मिसिल सरकारी वकिलको कार्यालयमा पठाएको जानकारी दिए ।