चितवनका ३ शैक्षिक परामर्श केन्द्रमा जिल्ला प्रशासनले लगायो ताला
३० वैशाख, चितवन । दर्ता नगरी अवैध रुपमा कक्षा सञ्चालन गर्दै आएका चितवनका तीन वटा शैक्षिक परामर्श केन्द्र (कन्सल्टेन्सी) बन्द गराइएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा गएको संयुक्त बजार अनुगमन टोलीले भरतपुर क्षेत्रमा दर्ताविना नै सञ्चालनमा आएका तीन वटा शैक्षिक परामर्श केन्द्रमा ताला लगाएको हो ।
चितवन मावि अगाडिको मिसन इन्स्टिच्युट अफ टेक्नोलोजी, भरतपुर १० सप्तगण्डकी क्याम्पस अगाडि रहेको सी स्टार एजुकेशन कन्सल्टेन्सी प्रा.लि. र भरतपुर ११ मा रहेको ड्रिम्स एजुकेशन कन्सल्टेन्सी बन्द गराइएको जिल्ला प्रशासन कार्यालय चितवनका नायब सुब्बा तथा बजार अनुगमन अधिकारी उमेशचन्द्र पन्थीले जानकारी दिए ।
यसअघि अनुगमनका क्रममा दर्ता नभएका यी कन्सल्टेन्सीलाई दर्ता गराउन समय दिएको भए पनि उनीहरुले पटकपटक अटेर गर्दै आएका थिए । एसईई र प्लस टु परीक्षा दिएर बसेका विद्यार्थी विद्यार्थीलाई लक्षित गरी यी कन्सल्टेन्सीले विद्यार्थी भर्ना आह्वान गर्दै आएका थिए । यी कन्सल्टेन्सीले विभिन्न विषयका प्रवेश परीक्षा तयारी कक्षाका नाममा विद्यार्थीहरुसँग लाखौं रकम असुलेका थिए ।
बन्द गरिएको मिसन इन्स्िटच्युट, डि्रम्स एजुकेशन र सी स्टार एजुकेशनलाई विद्यार्थीको पैसा फिर्ता गर्न पत्रमार्फत निर्देशन समेत दिएको पन्थीले बताए ।
चितवनका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको निर्देशन बमोजिम तीन वटै शैक्षिक परामर्श केन्द्रलाई बन्द गरिएको पन्थीले बताए ।