अफगानिस्तानमा टीभी प्रस्तोताको हत्या
अफगानिस्तानका राजनीतिज्ञ तथा महिला अधिकारवादीहरूले एक चर्चित पत्रकार तथा राजनीतिक सल्लाहकारको हत्याको निन्दा गर्दै न्यायको माग गरेका छन्।
विगतमा राजनीतिमा पनि सहभागी भएकी तर पछि टेलिभिजनमा कार्यरत मिना मङ्गललाई राजधानी काबुलमा शनिवार दिउँसो गोली हानी मारिएको थियो।
अफगानिस्तानका प्रमुख कार्यकारी अब्दुल्ला अब्दुल्लाले उनका हत्यारालाई पक्राउ गरिने वाचा गरेका छन्।
प्रहरीले अनुसन्धान थालेको छ। तर उनलाई कसले मारेको भन्ने प्रस्ट भइसकेको छैन।
शनिवार प्रकाशित एउटा वक्तव्यमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्न जाँदै गरेको बेला मङ्गललाई सबेरै साढे सात बजेतिर गोली हानिएको जनाएको छ।
अफगानिस्तानको सर्वोच्च अदालत, महिलाविरुद्ध हिंसासम्बन्धी आयोग तथा नागरिक समाजका विभिन्न समूहहरूले उनको हत्याबारे गम्भीर अनुसन्धानको माग गरेका छन्।