डडेल्धुरा बहुमुखी क्याम्पसमा तोडफोड, स्ववियु सभापतिसहित ९ जना पक्राउ


डडेल्धुरा । डडेल्धुरा बहुमुखी क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनकै अगुवाईमा तोडफोड भएको छ ।




शुक्रबार क्याम्पसले कर्मचारी भर्नाका लागि लिखित परीक्षा लिएका बेला स्ववियु सभापति जगत ऐर नेतृत्वको टोलीले ढुंगामुढा र तोडफोड गरेको हो । तोडफोडमा संलग्नको आरोप लागेका सभापति ऐरसहित नौ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मुख्य कार्यालय सहायक र मुख्य लेखा सहायक पदको परीक्षा विथोल्ने उद्देश्यले क्याम्पसको झ्याल ढोका तोडफोड गरेकाले उनीहरुलाई नियन्त्रणमा लिइएको प्रमुख जिल्ला अधिकारी राजु पौडेलले बताएका छन् । पक्राउ परेका विद्यार्थी नेतालाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । तोडफोडबाट क्याम्पसका केही कोठाको झ्यालका सीसा फुटेका छन् ।




डडेल्धुरा बहुमुखी क्याम्पसले त्रिविको नियम विपरीत राजनीतिक भागभण्डाको आधारमा कर्मचारी भर्ना गर्न लागेको भन्दै स्ववियुले ८ दिन अगाडि ताला लगाएको थियो । नेकपा डडेल्धुरा, नेपाली कांग्रेस डडेल्धुरा र जिल्ला प्रशासनको मिलेमतोमा कर्मचारी भर्ना गर्ने लागेको भन्दै स्ववियुले तालाबन्दी गरेको थियो ।

क्याम्पसले ताला तोडेर पूर्वनिर्धारित मितिमै कर्मचारी भर्नाको परीक्षा लिएको थियो । तीन जनाको लागि सिटमा १२ जनाले आवेदन दिए पनि ७ जना मात्र परीक्षामा सहभागी भएको क्याम्पसले जानकारी दिएको छ ।

क्याम्पसको कर्मचारी भर्ना विज्ञापनमा स्ववियु सभापति ऐरकी श्रीमतीले पनि आवेदन दिएकी थिइन । सभापती ऐरले आफ्नी श्रीमतीलाई नियुक्त गर्न क्याम्पस प्रमुखलाई दबाब दिएको तर नमानेपछि आन्दोलन सुरु गरेको आरोप लागेको छ ।




सम्बन्धित
Loading...