नेकपा एकता, नामावली टुंगो लाग्न नसक्दा सचिवालय बैठक स्थगित
सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को पोलिटब्युरो सदस्यको नामावली टुंगो लाग्न नसक्दा आइतबार बस्ने भनिएको बैठक स्थगित भएको छ ।
पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्य विभाजनलगायतका एकतासम्बन्धी बाँकी काम टुंगो लगाउन बैठक बोलाइएकोमा पोलिटब्युरो कमिटीमा रहने सदस्यको नामावली, कार्य विभाजनलगायतको तयारी नभएकाले बैठक स्थगित भएको नेकपा स्रोतले जनाएको छ ।
नेताहरूबीच पोलिटब्युरोमा रहने सदस्यका विषयमा सहमति जुट्न नसक्दा बैठक अनिश्चितसमेत बनेको छ । यद्यपि, नेताहरूले कार्यव्यस्तताका कारण सचिवालय बैठक स्थगित भएको जानकारी दिएका छन् ।
पोलिटब्युरो कमिटी गठन, केन्द्रीय सदस्यहरूको कार्यविभाजन, विभाग गठनदेखि स्थानीय तहसम्मका कमिटीको एकता टुंगो लगाउन बाँकी छ । यसैगरी, पार्टीको आयोग गठन, केन्द्रीय सल्लाहकार परिषद् तथा केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्च गठन अहिलेसम्म हुन सकेको छैन ।
नेकपाको अन्तरिम विधानअनुसार तीनवटा आयोग रहने प्रस्ताव गरिएको छ । जसमा केन्द्रीय अनुशासन आयोग, केन्द्रीय लेखा परीक्षण आयोग र केन्द्रीय निर्वाचन आयोग रहने व्यवस्था छ । अहिलेसम्ममा पार्टीको सचिवालय, केन्द्रीय कमिटी, प्रदेश, जिल्ला र जनसंगठनको एकता टुंगो लागिसकेको छ ।
एकतासम्बन्धी बाँकी काम टुंगो लगाउन नेकपा अध्यक्षद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल, वरिष्ठ नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनालसहितका शीर्ष नेताहरू अहिले पनि आन्तरिक गृहकार्यमा जुटेका छन् ।
नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले एकतासम्बन्धी बाँकी काम टुंगो लगाउन सचिवालय बैठक बोलाए पनि स्थगित भएको बताए । अर्को बैठक छिट्टै नै हुने उनले बताए ।