बुटवलमा सांस्कृतिक महासङ्घको भेला
ईश्वरीप्रसाद गैरे
बुटवल। अखिल नेपाल जनसांस्कृतिक महासङ्घको पाँच नम्बर प्रदेशको प्रारम्भिक भेला हिजो बुटवलमा सम्पन्न भएको छ । महासङ्घका केन्द्रीय महासचिव हिरामणि दुःखीको अध्यक्षतामा प्रारम्भिक भेला सम्पन्न भएको हो । उक्त भेलालाई नेकपा (क्रान्तिकारी माओवादी)का प्रदेश सचिव तथा पिविएम प्रेम सुवेदीले प्रमुख अतिथिका रूपमा भेला सफलताको शुभकामना दिएका थिए ।

प्रमुख अतिथि सुवेदीले भेलालाई सम्बोधन गर्दै राजनीतिक आन्दोलनसँगै सांस्कृतिक आन्दोलन चल्ने र सांस्कृतिक आन्दोलनमा विभिन्न क्षेत्र तथा विधाका कलाकर्मी र लेखक साहित्यकारहरूको महत्वपूर्ण भूमिका रहने कुरा बताए । उनले अगाडि भने ‘राजनीतिक आन्दोललाई सही ट्रयाक दिने काम विचारले त दिन्छ तर त्यो विचारलाई जनताका बिचमा लोकप्रिय तरिकाले लैजोने काम संस्कृतिकर्मीले गर्छन् । त्यसैले हरेक राजनीतिक आन्दोलनसँग सांस्कृतिक आन्दोलन जोडेर लैजान पर्छ ।’
त्यसैगरी महासङ्घका महासचिव हिरामणि दुःखीले भेलालाई सम्बोधन गर्दै भने ‘अबको राजनीतिक आन्दोलनसँगै महान् सर्वहारा सांस्कृतिक आन्दोलनलाई दह«ोसँग पकडेर लैजान पर्छ । हाम्रो सांस्कृतिक आन्दोलनको मानक भनेको चिनमा कमरेड माओत्से तुङले अघि सार्नु भएको तर पूरा गर्न नसक्नुभएको सर्वहारा सांस्कृतिक आन्दोलन हो ।’ उनले जनयुद्धमा सांस्कृतिक आन्दोलनलाई सर्वहाराकृत गर्न नसक्नु र त्यसको वैचारिक महत्वलाई तलसम्म प्रष्ट गर्न नसक्नुको परिणाम नेता अवतार जस्ता र कार्यकर्ता भक्तजस्ता हुनुको कारण जनयुद्ध समाप्त पार्दा पनि कार्यकर्ताबाट विरोध नहुनु हो भने ।
प्रारम्भिक भेलाले हिरामणि दुःखीको संयोजकत्वमा दुइजना बर्दिया र प्युठानबाट पछि थप्ने गरी नौ सदस्यिय तदर्थ समिति चयन गरेको छ । जस्का सदस्यहरूमा गोपाल वैद्य बाँके, खगेश्वर भण्डारी दाङ, सौगात सायर रूपन्देही, ज्ञानु थापा गुल्मी, प्रस्तुति थापा रूपन्देही र लिला परियार बाँके रहेका छन् ।
सो भेलाले आगामी भदौसम्ममा सङ्गठनलाई प्रदेशका सबै जिल्लामा पु¥याएर विविध कार्यक्रम सहितको भेला सम्मपन्न गर्ने निर्णय गरेको छ । यसैगरी यही जेठ १३ गतेको १७ औँ इच्छुक स्मृति तथा सांस्कृतिक बलिदान दिवस नेपालगञ्जमा भव्य समारोहका विच मनाउने निर्णय गरेको छ । त्यसका लागि तयारी र व्यवस्थापनका लागि सदस्य गोपाल वैद्य र लिला परियारलाई जिम्मेवारी तोकेको छ ।