सन्दीप लामिछाने: अहिलेसम्मकै महँगो मूल्यमा क्यारेबियन लीगमा
विश्वका ठूला व्यावसायिक क्रिकेट लीग खेलेर तहल्का मच्चाएका नेपाली स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) को खेलाडी बोलकबोल प्रक्रिया (अक्शन) मा महँगो मूल्यमा सकारिएका छन्।
इङ्ग्ल्यान्डमा बुधवार राति भएको ड्राफ्टमा सन्दीप लामिछानेलाई बार्बाडोस ट्रिडेन्टस् क्लबले ७० हजार अमेरिकी डलरमा सकारेको जनाइएको छ। त्यो रकम झन्डै ७८ लाख रुपैयाँ बराबर हो।
उनी गत वर्ष पनि क्यारेबियन लीग खेलेका थिए। यी १९ वर्षीय खेलाडीले अहिलेसम्म उनले भारत, क्यारेबियन, अफगानिस्तान, बाङ्ग्लादेश र पाकिस्तानका लीगमा खेलेका छन्। समग्रमा लामिछानेले सबै लीगमा कुल ४२ खेल खेलेर ५३ विकेट लिएका छन्।
लामिछानेले यस्ता लीगमा पाएको यो मूल्य अहिलेसम्मकै सर्वाधिक हो।
आफू नयाँ टोलीमा छानिएलगत्तै सन्दीपले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, “म उत्साहित छु। एउटा नयाँ परिवारको सदस्य हुन म निकै व्यग्रताका साथ प्रतीक्षामा छु।”
गत सिजनमा उनले खेलेका यस्ता फ्रेन्जाइजी लीगमध्ये लामिछानेले सबैभन्दा बढी अस्ट्रेलियाको चर्चित लीग बिग ब्याशमा ५० हजार अमेरिकी डलर पाएको बताइएको छ।
त्यसपछि क्यानडामा सम्पन्न ग्लोबल टी-२० लीग मा ४० हजार डलरमा छानिएका उनले अफगानिस्तान प्रिमियर लिगमा १५ हजार डलर तथा टी-१० लीगमा ३० हजार डलर मूल्य पाएका थिए।