भाँडो




ऊ छे , उसको जिन्दगी छ
र छ एउटा भाँडो
भाँडो उसको अस्तित्व हो, अस्मिता हो
र हो बाँच्ने आधार
ऊ भाँडो बिना बाँच्नै सक्दिन
त्यसैले भाँडो उसको जिन्दगी हो

कहिले खीर पाक्छ
कहिले पुलाऊ पाक्छ
कहिले भात पाक्छ
कहिले आँटो पाक्छ
कहिले ढिँडो पाक्छ
उसको भाँडोमा
ऊ मीठो मानी नमानी खान्छे
जसलाई जे मनपर्छ खुवाउँछे
खानेले पनि मीठो मानी मानी खान्छ
प्यासीलाई पानी पिलाउनुमा कुवाको के दोष ?




उसको भाँडोमा मनपरी नाँचेका छन्
डाडु, पन्युँ, कर्ची र चमचाहरू
र घोटेका छन् नथाकुन्जेल
कहिले त चक्कु र छुरी पनि आउँछ
मनपरी काट्छ, तास्छ र रक्ताम्मे पार्छ
तैपनि ऊ आफ्नो भाँडोलाई सर्वश्व ठान्छे
जिन्दगी ठान्छे
र तन्दुरुस्त राख्न हरदम प्रयासरत रहन्छे
पवित्र पार्न गंगा स्नान गराउँछे

धेरै काल यसरी बिताउँछे
अनेकौं पकवान पकाएर
अनेकौं प्रहार सहेर
ताछिएर, पछारिएर, पिटिएर
अचेल उसको भाँडो
कच्याककुचुक परेको छ
चाउरिएको छ थोत्रिएको छ
र चुहिने भएको छ
अब उसको भाँडोमा केही पाक्दैन
कुनै डाडुपन्युँ चल्दैन
त्यसैले उसको पेट रित्तो छ
सबै रङहरू हराएर
श्याम श्वेत भएको छ जिन्दगी

उसको ब्रह्मले भनिरहेछ
आखिर भाँडो रहेछ जिन्दगी
मनले धिक्कारिरहेछ ती भोकाहरुलाई
जसले जुन भाँडोमा खाए
त्यसैमा थुके पाजीहरू
आफू जस्तै जीर्ण चाउरिएको उदेकलाग्दो
भाँडो लिएर बाँची रहेकी छे
र भनी रहेकी छे –
” आखिर भाँडो रहेछ जिन्दगी ।”



सम्बन्धित
Loading...