काठमाडौंको दुई स्थानमा विस्फोट, तीन जनाको मृत्यु


सुकेधारा र घट्टेकुलोमा भएको बम विस्फोटमा मृत्यु हुनेको संख्या तीन पुगेको छ । ६ जना घाइते भएका छन् ।



सुकेधारा र  घट्टेकुलो  दुबै स्थानमा घटनास्थलमा एक एक जना मृत भेटिएका छन् भने ओम अस्पतालमा उपचारका क्रममा एक जनाको मृत्यु भएको छ ।

घट्टेकुरोमा २६ वर्षीय रबिन केसीको मृत्यु भएको छ । सो घटनामा एक जना घाइते भएका छन् । घाइतेको वीर अस्पतालमा उपचार भइरहेको छ । उनको अवस्था चिन्ताजनक रहेको छ ।




मृतक केसी विप्लव नेतृत्वको अखिल क्रान्तिकारीका त्रिचन्द्र क्याम्पसका विद्यार्थी नेता रहेको अनुमान गरिएको छ ।

उता सुकेधारामा भएको विस्फोटमा परी दुई जनाको ज्यान गएको छ । निधन भएकामध्ये एक जनाको घटनास्थलमा र अर्का एकको उपचारको क्रममा ओम अस्पतालमा निधन भएको हो ।

निधन भएकाको पहिचान खुली नसकेको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले जानकारी दिए ।

सुकेधारा घटनामा परी घाइते भएकामध्ये चार जनाको ओम अस्पताल चावहिल र एक जनाको त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये एकको अवस्था चिन्ताजनक रहेको छ ।

दुबै विस्फोटमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको संलग्नता रहेको पुष्टि भएको छ । घट्टेकुलो विस्फोटका घाइते केसी विप्लव समूहका विद्यार्थी नेता हुन् ।

सुकेधारा विस्फोटमा घाइते भएका सुरेन्द्र महर्जन विप्लव समूहको भातृ संस्था नेवा मुक्ति मोर्चाका नेता रहेको प्रहरीले जानकारी दिएको छ ।

सुकेधारास्थित ढलाने पुल नजिकै सैलुनमा बम विस्फोट भएको थियो ।

प्रहरीको प्रारम्भिक अनुसन्धानमा सिलिण्डर विस्फोट भएको खुलेको छ । तर, आफैं वा कसैले विस्फोट गराएको हो भन्ने अनुसन्धान भइरहेको प्रवक्ता पोखरेलले बताए ।



सम्बन्धित
Loading...