सामाजिक सञ्जालको स्टाटसमा कमेण्ट गरेको विषयलाई लिएर बर्दघाटमा कुटपिट


 



बर्दघाट । सामाजिक सञ्जालमा हालेको स्टाटस कमेण्ट लेखेको विषयलाई लिएर बर्दघाटमा एक जनामाथि कुटपिट भएको छ ।
राष्ट्रिय जनमोर्चाका बर्दघाट अध्यक्ष शोभा कान्त लामिछानेका अनुसार राष्ट्रिय जनमोर्चाका बर्दघाट सहसचिव लक्ष्मणजंग हमालमाथि कुटपिट भएको हो । उनको अहिले बर्दघाट चौपत्तामा रहेको सहिद स्मृति सामुदायिक अस्पतालमा उपचार भईरहेको छ ।
कुटाइ खाने लक्ष्मणजंग हमाल रक्तिम सांस्कृतिक अभियानका जिल्ला सचिव र अखिल नेपाल युवक संघको जिल्ला कोषाध्यक्ष समेत हुन् । राष्ट्रिय जनमोर्चाका बर्दघाट अध्यक्ष शोभा कान्त लामिछाने हमालमाथि नेपाली काँग्रेसका कार्यकर्ताहरुले कुटपिट गरेको आरोप लगाएका छन् ।
बर्दघाट नगरपालिका वडा नं. १४ धर्मबस्तीमा रहेको उदय युवा क्लबका उपाध्यक्ष समेत रहेका हमालले आफूमाथि क्लबका अध्यक्ष जीवन कामु र  प्रेम कामु लगायतको टोलीले घरमै आएर कुटपिट गरेको बताए ।
कुटाइ खाने हमालले दाउन्ने न्यूजलाई बताए अनुसार – बजारको ठेक्का लगायतका विषयमा क्लबका पदाधिकारी बीच नै विवाद भएको थियो । अध्यक्ष कामु बजारको ठेक्का क्लबले लगाउन पाउने पक्षमा लिए भने उपाध्यक्ष हमाल भने जसले ठेक्का लगाए पनि नगरपालिकामा गएर क्बलले बजारबाट उठ्ने ठेक्का रकम माग गर्नु पर्ने पक्षमा थिए । यही विषयमा सामाजिक सञ्जालमा स्टाटस राख्ने र कमेण्ट टिप्पणी गर्ने विषयमा विवाद हुँदा कुटपिट भएको हो ।
शुक्रबार साँझ घरमै २०/२५ जनाको समुहले आफूमाथि कुटपिट गरेको उनले बताए । उनले घटना राजनीतिक विषय नभए पनि आफूमाथि राजनीतिक प्रतिसोध साँधिएको आरोप लगाए ।
उनले भने मलाई पहिला फोन गरेर फेसबुकको कमेण्टलाई लिएर तथानाम गाली गरे मैले गल्ती भएर कानुन अनुसार कारवाही भोग्न तयार छु भने तर मलाई घरमै आएर एक्कासी कुटपिट गरियो ।
उनले आफू कोठा भित्र गएर ज्यान जोगाएको र पछि वडाअध्यक्षलाई फोन गरेर वडा अध्यक्षले प्रहरी प्रशासनलाई खबर गरेपछि उपचार गर्न आउन सकेको बताए ।
अस्पताल स्रोतका अनुसार उनको छातीमा चोट लागेको छ ।



सम्बन्धित
Loading...