असार १५ : धान दिवस मनाउन मन्त्रीसहितको टोली बर्दियामा
धान खेतीमा प्रविधि र यान्त्रिकीकरण, चामल आयातमा न्युनीकरण भन्ने नाराका साथ आज १६ औं राष्ट्रिय धान दिवस मनाइँदै छ । सरकारले हरेक वर्ष असार १५ गतेलाई राष्ट्रिय धान दिवस एवम् रोपाइँ महोत्सवको रुपमा मनाउने गर्दछ ।

यस वर्ष दिवसको मुख्य कार्यक्रम राजापुर नगरपालिका-८, बर्दियामा आयोजना हुँदै छ । कार्यक्रममा सहभागी हुन कृषिमन्त्री चक्रपाणी खनाल (बलदेव), कृषि विभागका महानिर्देशक सूर्यप्रसाद पौडेल, नेपाल कृषि अनुसन्धान परिषद (नार्क)का महानिर्देशक टेकबहादुर गुरुङ, सांसदलगायतको टोली बर्दिया पुगिसकेको छ ।
सोह्रौं राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, मूल आयोजक समितिका अध्यक्षसमेत रहेका महानिर्देशक पौडेलले धान खेतीमा यान्त्रिकीकरणबाट उत्पादकत्वसमेत करिब १५ प्रतिशतले वृद्धि हुने देखिएकाले आगामी दिनहरुमा धानखेतीको प्रवर्द्धनका लागि वैज्ञानिक यान्त्रिकीकरणलाई बढावा दिनु आवश्यक रहेको बताए ।
