ठेक्का लागेका जति खोलानदी दोहन
भरतपुर । ढुंगा गिटी उत्खननका लागि सरकारले बढी बढाउमा हरेक वर्षजसो ठेक्का दिएको हुन्छ । ठेक्का दिइएका मध्ये मुख्य मानिएका त्रिशूली, नारायणी नदी र खगेडी, स्याङ्दी, थाङ र वुङ खोलाकोे एक हप्ताको बीचमा अनुगमन भएको छ ।
जिल्ला अनुगमन समितिबाट इच्छाकामना गाउँपालिका, भरतपुर महानगरपालिका र कालिका नगरपालिकाका विभिन्न खोलानदीहरुमा यसपटक लागेको ठेक्काको अनुगमन भएको हो । तर, अनुगमनपछि सहभागीहरुले भन्ने गरेका छन्, ‘प्राकृतिक स्रोतको अति नै नोक्सान भएको रहेछ ।’
खोला र नदीहरु जहाँ बढी उत्खनन भइरहेको छ भनी हामीलाई सूचना आएको थियो, त्यहाँको अनुगमन भयो । तर, कहीँकतै पनि चित्त बुझाउने ठाउँ भेटिएन,’ जिल्ला समन्वय समिति चितवनका प्रमुख कृष्णकुमार डल्लाकोटीले भने, ‘खोलानालाको ठेक्का खुलाउने र पछि के कसरी उत्खनन भइरहेको छ भनेर फर्केर हेर्न नजाने स्थानीय तहको जिम्मेवार प्रतिनिधिहरुको कारण प्राकृतिक स्रोतको नास भइरहेको छ ।’