विप्लव समूहद्वारा भक्तपुरमा जग्गा कब्जा
भक्तपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले भक्तपुर जग्गा कव्जा गरेको छ । चाँगुनारायण नगरपालिका २ दुवाकोटमा रहेको एक रोपनी एक दाम जग्गा विप्लव समूहले कब्जा गरेको हो ।
नेकपा जिल्ला जनपरिषद् भक्तपुरअन्तर्गत रहेको नेवाः स्वायत्त प्रदेशले चाँगुनारायण नपा ५ छालिङकी निर्मलाकुमारी पुरी र भक्तपुर नपा १० कमलविनायक निवासी चन्द्रमाया सुवालको संयुक्त नाममा रहेको जग्गा कब्जा गरेको भन्दै जग्गामा कालो ब्यानर र विज्ञप्ती टाँस गरेको थियो । चाँगुनारायण नगरपालिका वडा नम्वर २ कित्ता नम्बर १७९८ रहेको उक्त जग्गाको क्षेत्रफल एक रोपनी एक दाम रहेको छ ।
जिल्ला जनपरिषद् भक्तपुरका प्रमुख एसीको हस्ताक्षर रहेको जेठ २० गतेको प्रेस विज्ञप्तिसहित उक्त जग्गा कब्जा गरेको ब्यानर समेत टाँस भएको हो ।
परिषद्का कार्यकर्ताले जग्गा कब्जा गरेपछि जग्गाधनी चन्द्रमायाको घरमै गएर जग्गा कब्जा गरेको पत्र दिएका थिए । जग्गासम्बन्धी मुद्दा उच्च अदालत पाटनमा विचाराधीन अवस्था छ । प्रहरीले जग्गा कब्जा भनी राखिएको नेकपाका झण्डा र ब्यानर हटाइएको छ । भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक सविन प्रधानले कसैले भन्दैमा वा लेखेर राख्दैमा व्यक्तिको जग्गा कब्जा नहुने बताएका छन् ।