ह्वावेई विवाद: पश्चिमा विश्व चिनियाँ कम्पनीसँग झस्किनुका पाँच कारण

156








गुगलले विश्वको दोस्रो ठूलो स्मार्टफोन निर्माता ह्वावेईलाई एन्ड्रोइड अपरेटिङ सिस्टममा अप्डेट गर्न रोक लगाएपछि सो चिनियाँ कम्पनीले आफ्ना उत्पादनका लागि छुट्टै प्रणाली बनाउने तयारी गरेको छ।

गत महिना अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकी कम्प्युटर सञ्जाललाई ‘विदेशी प्रतिद्वन्द्वी’बाट जोगाउन राष्ट्रिय सङ्कटकाल घोषणा गरेपछि गुगलले ह्वावेईका उत्पादनमा आफ्ना एप नचल्ने बनाउने निर्णय गरेको हो।




ट्रम्पको उक्त निर्णय विशेषत: चिनियाँ प्रविधि कम्पनीप्रति लक्षित रहेको विश्लेषकहरू ठान्छन्।

ह्वावेई स्मार्टफोन उत्पादनका लागि चिनिएको भए पनि उसले सञ्चारसम्बन्धी अरू उपकरण पनि बनाउँछ।

त्यस्ता उपकरणको बिक्रीमाथि अमेरिकामा प्रभावकारी रूपमा प्रतिबन्ध लगाइए पनि विश्लेषकहरूले विश्वभरि ४० देखि ६० प्रतिशत सञ्जालमा नियन्त्रण गर्ने आकलन गरेका छन्। आरोपहरूको एउटा जटिल शृङ‍्खलामा अन्तर्राष्ट्रिय गुप्तचर निकायहरू, चोरिएको रोबोटिक उपकरण, हीराको जलप लगाइएका बलिया सिसा र इरानसँगको शङ्कास्पद गोप्य सम्झौता रहेका छन्।

मोबाइल फोन सञ्जालको अर्को क्रान्तिको रूपमा हेरिएको फाइभजी प्रविधि आपूर्ति गर्नका लागि ह्वावेई विश्वभरिका देशहरूसँग छलफलमा छ।

तीव्र गतिको सो प्रविधि चालकबिना चल्ने कार र अन्य धेरै नयाँ प्रणालीमा पनि प्रयोग हुने ठानिएको छ।

कुनै देशको फाइभजी आधारभूत संरचनामा ह्वावेई भए त्यस्तो दूरसञ्चार सञ्जालबाट जासुसी गरेर पछि व्यवधान उत्पन्न गराउन सक्ने दाबी अरू देशहरूको रहेको छ।

अमेरिकी राष्ट्रपतिको कार्यकारी आदेश आउनुभन्दा अघि नै अमेरिकाले आफ्ना पश्चिमा साझेदारलाई सो चिनियाँ कम्पनीसँग सहकार्य नगर्न दबाव दिने गरेको थियो।

त्यस्तो दबाव अमेरिकाले आफू पनि संलग्न तथाकथित “फाइभ आइज” समूहका यूके, क्यानडा, अस्ट्रेलिया र न्यूजिल्यान्डलाई दिएको थियो। सो समूहका गुप्तचर निकायबीच घनिष्ठ सम्बन्ध छ र उनीहरूबीच विशेषत: गोप्य विद्युतीय सूचना आदानप्रदान हुन्छ।

फाइभजी सञ्जालमा ह्वावेईका उपकरण जडान गर्ने अङ्ग्रेजीभाषी देशसँग त्यस्ता सूचना नबाँड्ने अमेरिकाले बताएको छ।

ह्वावेईको उपकरण आफ्नो सूचनाप्रणालीमा प्रयोग गर्ने देशसँग सूचना नबाँड्ने चेतावनी अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले दिएका छन्। BBC



You might also like
Loading...