भेनेजुएला सङ्कट: कोलम्बियासँगको सीमा खोल्ने बित्तिकै मानिसहरूको धुइरो
भेनेजुएला र कोलम्बियाको सीमाना चार महिनापछि पहिलोपटक खुल्दा दशौँ हजार मानिसहरूले सीमा पार गरेको अधिकारीहरूले बताएका छन्।
यो सीमा फेब्रुअरी महिनामा विपक्षी नेता ख्वान ग्वाइदोले अमेरिकी समर्थनको मानवीय सहायता भित्र्याउने तयारी गरेपछि राष्ट्रपति निकोलस मदुरोको अनुरोधमा बन्द गरिएको थियो।
देशमा वर्षौं लामो आर्थिक सङ्कटका कारण आधारभूत कुराहरूको अभाव हुँदै आएको छ।
संयुक्त राष्ट्र सङ्घीय निकायहरूका अनुसार सन् २०१५ यता ४० लाख मानिसले भेनेजुएला छोडेका छन्।
ट्विटरमा घोषणा
कोलम्बियाको विदेश मन्त्रालयका अनुसार शनिवार ३० हजार भेनेजुएलाका नागरिकहरू आइपुगेका छन्।
विपक्षीहरूले विदेशी सहायता ल्याउने कार्यक्रम शुरु गरेपछि मदुरोले त्यो कार्य आफूलाई हटाउन गरिएको प्रयत्नको एक अंश भन्दै विरोध गरेपछि कोलम्बिया, ब्रजिल र डच एन्टिलेस आइल्यान्डहरूसँगको सीमा यो वर्षको शुरुतिर बन्द गरिएको थियो।
गत महिना मदुरोले ब्रजिल र आइल्यान्ड अफ अरुबासँगको सीमा खोल्ने घोषणा गरेका थिए तर अरुबाका अधिकारीहरूले सीमा बन्द रहने जनाएका छन्।
कोलम्बियासँगको सीमा खोल्ने घोषणा ट्विटरमा गर्दै मदुरोले उनको देशमा सङ्कट बढ्नुको आरोप वाशिङ्टन नेतृत्त्वको आर्थिक युद्धमाथि लगाए।
आधारभूत आवश्यकताका लागि कोलम्बियामाथि भर पर्ने गरेका सीमा क्षेत्रमा रहेका भेनेजुएलाका शहरहरूमा सीमा बन्दले निकै समस्या पारेको थियो।
त्यस बीचमा कैयौँले अवैधानिक रूपमा सीमा पार गरेका थिए। जसले गर्दा सीमा क्षेत्रमा रहेका अपराधीहरूलाई शुल्क बुझाउनुपरेको थियो। BBC