वेस्ट इन्डिजमाथि ९ विकेटले इंग्ल्यान्डको सहज जित
ओपनर जोए रुटले अविजित शतकीय इनिङ्स खेलेपछि घरेलु टोली इंग्ल्यान्डले एकदिवसीय विश्वकप क्रिकेटमा वेस्ट इन्डिजमाथि सहज जित हात पारेको छ ।
साउथह्याम्पटनमा शुक्रबार राति भएको खेलमा इंग्ल्यान्डले वेस्ट इन्डिजमाथि ९ विकेटको सहज जित हात पारेको हो ।
वेस्ट इन्डिजले दिएको २ सय १३ रनको मध्यम लक्ष्य घरेलु टोली इंग्ल्यान्डले ३३ ओभर १ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । ९३ बलमा ११ चौकाको मद्दतमा शतक पूरा गरेका रुट १ सय रनमा अविजित रहे ।
क्रिस वोक्स ४० रनमा आउट भए । बेन स्टोकले १० रन जोडे । वेस्ट इन्डिजका दुवै विकेट सानम ग्याब्रियलले लिए ।
घरेलु टोली इंग्ल्यान्डले पहिलो विकेटका रूपमा जोनी बरिस्टोभलाई ४५ रनमा गुमाएको थियो । सानदार सुरुवात गरेको इंग्ल्यान्डको पहिलो विकेटका लागि बरिस्टोभ र रुटले ९५ रनको साझेदारी गरेका थिए ।
उनीहरूको साझेदारी सानम ग्याब्रियलले तोडेका थिए । तर, त्यसपछि रुट र क्रिसले दोस्रो विकेटका लागि १ सय ४ रनको साझेदारी गर्दै टोलीको जित पक्का गरेका थिए ।
त्यसअघि साउथह्याप्टनमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको वेस्ट इन्डिज ४४ ओभर ४ बलमा अल आउट हुँदै २ सय १२ रनमा समेटियो । निकोलस पुरनले सर्वाधिक ६३ रनको योगदान दिए ।