गैंडा मर्न थालेपछि संरक्षणकर्मी चिन्तित

124








चितवन : चालू वर्ष चोरी सिकारीबाट एउटा पनि गैंडा मरेका छैनन्। तर, प्राकृतिक कारणले ४३ वटा मरेका छन्। झन्डै एक वर्ष अवधिमा प्राकृतिक र अन्य कारणले ४५ गैंडा मरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका उपसचिव विष्णुप्रसाद श्रेष्ठले बताए।




‘धेरै संख्यामा गैंडा मरेपछि विभिन्न अध्ययन गर्दै आएका छौं’, उपसचिव श्रेष्ठले भने, ‘के कारणले मरेको हो भनेर यकिन भएको छैन।’ विभागले ६० ठाउँको पानी परीक्षण गर्दा पनि केही कारण पत्ता नलागेको उनले सुनाए। मृत शरीर र वासस्थानको जाँच गर्दा पनि केही नखुलेको उनको भनाइ छ। ‘के कारणले मरेको हो भनेर अध्ययनमै छौं’, उनले भने, ‘भारतमा जेडएसआई टेस्ट गराउँदै छौं। त्यहाँबाट पनि केही पत्ता नलागे अन्य मुलुकमा भएको प्रविधिमा जानेछौं।’

पछिल्लो तथ्यांकअनुसार देशभर ६ सय ४५ गैंडा छन्। चितवन राष्ट्रिय निकुञ्ज र आसपासमा मात्रै ६ सय ५ वटा छन्। बर्दिया राष्ट्रिय निकुञ्जमा २८, शुक्लाफाँटामा नौ र पर्र्सा राष्ट्रिय निकुञ्जमा तीनवटा रहेको विभागको तथ्यांक छ। चालू वर्ष चितवन राष्ट्रिय निकुञ्जमा प्राकृतिक कारणले ३८ र अन्य कारणले दुई गैंडा मरे। डिभिजन वन कार्यालय चितवनमा दुई र बर्दिया राष्ट्रिय निकुञ्जमा तीनवटा मरे। यीमध्ये ड्यामबाट खसेर एक र होटलको सेफ्टी ट्यांकमा खसेर एउटाको मृत्यु भएको थियो।

राप्ती र नारायणी नदीको बाढीले बगाएका ११ गैंडा गत वर्ष उद्धार गरिएको थियो। नौवटा भारतबाट र एउटा त्रिवेणीबाट उद्धार गरेर ल्याइएको थियो। बाढीका कारण चार गैंडा मरेका थिए। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार सन् २०१४ देखि सन् २०१७ सम्ममा ६१ वटा प्राकृतिक कारणले मरेका थिए। २०५८ मा चोरी सिकारीबाट ३७ वटा मारिएका थिए। २०७३ सालपछि चोरी सिकारीबाट एउटा पनि गैंडा नमरेको ढकालले बताए।

प्राकृतिक कारणले गतवर्ष २६ गैंडा मरेका थिए। कतिपय गैंडा आपसमा जुधेर पनि मर्ने गरेको विभागका अधिकारीको भनाइ छ। पोथीसँगको संसर्गका बेला भाले गैंडा जुध्छन्। गैंडा धेरै भएको स्थानमा जुध्ने खतरा बढी हुन्छ। यस कारण पनि गैंडा मर्ने सम्भावना बढी हुन्छ। प्राकृतिक कारणबाट गैंडाको मर्ने क्रम बढेकोमा संरक्षणकर्मीले चिन्ता व्यक्त गरेका छन्।

दुर्लभ मानिएको एकसिंगे गंैडा जोगाउन वासस्थान व्यवस्थापन मुख्य चुनौतीका रूपमा देखिएको छ। चोरी सिकारीबाट जोगाउने कामको तुलनामा प्राकृतिक कारणले गंैडा मरेको विषयलाई चासो दिएको पाइँदैन। घाँसै मैदानको व्यवस्थापन हुन सकेको छैन। मिचाहा प्रजातिका झारले घाँस अतिक्रमणमा परेको छ। गंैडाले खाने घाँसलाई माइकेनिया, थार्पेनियम जातका झारले असर गरेको जानकार बताउँछन्। गैंडाका लागि आवश्यक ताल व्यवस्थित हुन सकेको छैन।

निकुञ्जमा घाँसे मैदान घटेर वन क्षेत्र बढ्दै गएको छ। चितवन राष्ट्रिय निकुञ्ज स्थापना गर्दा ३० हजार हेक्टरमा घाँसे मैदान थियो। अहिले घटेर १० हजार हेक्टर मात्रै छ। यसमध्येको ५ सय हेक्टर मात्रै यो वर्ष व्यवस्थापन गरिएको ढकालको भनाइ छ। गैंडाले काँस, खर बढी मन पराउँछ।

पानीको स्रोत घट्दा वासस्थान प्रभावित बनेको छ। ताल सुक्न थालेपछि गैंडालाई पानी खान र आहाल बस्न समस्या परेको छ। निकुञ्जमा २ सयभन्दा बढी प्राकृतिक ताल छन्। यी ताल प्रायः हिउँदमा सुक्छन्। ८० वटा ताल सुधार र व्यवस्थापन गरिएको श्रेष्ठले बताए। बजेट अभावले वासस्थान व्यवस्थापन गर्न कठिन भएको ढकालले बताए। ‘घाँसे मैदान र तालतलैया व्यवस्थापन मुख्य चुनौती हो’, उनले भने, ‘बजेट अभावले संरक्षणमा असर परेको छ।’  – अन्नपूर्ण पोष्टबाट



You might also like
Loading...