५ थान हतियारसहित विप्लवका ३ कार्यकर्ता पक्राउ
मोरङ प्रहरीले पाँच थान हतियार सहित विप्लवका ३ जना जिल्ला स्तरका नेतालाई पक्राउ गरेको छ । चन्दा उठाउन हिँडेका विप्लव समूहका मोरङ जनपरिषद प्रमुख अशोक राईसहित तीन जनाई पक्राउ गरेको हो ।
विप्लव समूहका जिल्ला जनपरिषद प्रमुखसहित अन्य २ जना कार्यकर्ताको साथबाट ५ थान हातहतियार बरामद गरेको छ।
पक्राउ गरिएका सुन्दरहरैंचा नगरपालिका वडानम्बर १२ बस्ने ४० वर्षीय अशोक राई, कानेपोखरी गाउँपालिका वडानम्बर ६ बस्ने ३४ वर्षीय सुदिप भन्ने कंश धिमाल र उर्लाबारी नगरपालिका २ सालबारीका ४८ वर्षीय केन्द्र धिमाललाई प्रहरीले सोमबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ।
पक्राउ गरिएकाको साथबाट बरामद भएका हातहतियारसमेत प्रहरीले सार्वजनिक गरेको छ। विशेष सूचनाको आधारमा बेलबारी नगरपालिकाको वडानम्बर ३ स्कुल डाँडाबाट भन्ने स्थानबाट मोटरसाइकलमा सवार उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका एसपी विश्व अधिकारीले जानकारी दिए।