बर्दघाट नगरपालिकाले बजार विकास समितिलाई डस्टविन हस्तान्तरण
बर्दघाट नगरपालिकाले नकुहिने फोहोर संकलन गर्नका लागि आवश्यक डस्टविन बर्दघाट बजार विकास मितिलाई हस्तान्तरण गरेको छ । नगरपालिकाको तर्फबाट नगर प्रमुख धिरज शर्मा बस्यालले बर्दघाट बजार विकास समितिका अध्यक्ष शोभाकान्त कोईरालालाई ७० वटा डस्टविन हस्तान्तरण गर्नुभएको हो ।

नगरपालिकाबाट प्राप्त भएका डस्टविनहरुलाई बर्दघाट टिसियन चोक देखी चिसापानी चोक सम्म हाईवे केन्द्रित घरहरु लक्षित गरी वितरण गरी बजार विका समितिका अध्यक्ष शोभाकान्त कोईरालाले बताउनुभएको छ । डस्टविन वितरण गर्दा ४ देखि ५ वटा घरका लागि एउटा डस्टविन उपलब्ध गराएर पायक पर्नेठाउमा राख्ने ब्यबस्था मिलाईने कोईरालाले बताउनुभयो । डस्टविनमा नकुहिने फोहोर मात्र संकलन गरिने र संकलित फोहोरलाई बजार विकास समितिको गाडि मार्फत सुरक्षित स्थानमा ब्यबस्थापन गरिने बताईएको छ ।
डस्टविनका लागि नगरपालिकाले ६० प्रतिशतलगानी भएको र बांकी ४० प्रतिशत लगानी प्रयोग गर्ने नागरिकहरुबाट बजारविकास समिति मार्फत संकलन गरी नगरपालिमा बुझाईने अध्यक्ष कोईरालाको भनाई छ । नगरपालिकाले उपलब्ध गराएका डस्टविनहरु एक दुई दिन भित्र वितरण गरीने बताईएको छ । डस्टविन हस्तान्तरण कार्यक्रममा नगरपालिकाको तर्फबाट नगर प्रमुख धिरज शर्मा बस्याल, उप प्रमुख माया पौडेल प्रमुख प्रशासकिय अधिकृत कृष्ण प्रसाद पाण्डेको सहभागिता रहेको थियो भने बजार विकास समितिको तर्फबाट बजार विकास समितिका अध्यक्ष शोभाकान्त कोईराला संगै कार्यसमितिका पदाधिकारी तथा सदस्यहरुको सहभागिता रहेको थियो ।