२५ लाखको लोभमा अाफ्नै बाबुले गरे छोरीको हत्या
रौतहट : २५ लाख बिमा रकमको लोभमा परेर बाबुले ४ वर्षीया नाबालिका छोरीको हत्या गरेका छन्। रौतहटको मौलापुर नगरपालिका-६ पथराबुधरामका ३९ वर्षीय रामकिशोर यादवले गत १६ गते ४ वर्षीया छोरी लक्ष्मी राय यादवको घाँटी थिचेर हत्या गरी पोखरीमा फालेको अवस्थामा १७ गते बिहान शव फेला परेको थियो।
जिल्ला प्रहरी कार्यालय रौतहटमा शुक्रबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै रौतहट प्रहरीका डिएसपी तथा प्रवक्ता नवीन कार्कीले बिमाको रकम हातपार्नका लागि नबालिका छोरीको निर्ममतापूर्वक हत्या गरेको बताए।
नाबालिका लक्ष्मीको शव फेला परेपछि प्रहरीले अनुसन्धान गर्दै जाँदा रामकिशोरले बिमाको ठूलो रकम हातपार्न आफ्नै कान्छी छोरीको निर्ममतापूर्वक हत्या गरेको रहस्य खुलेपछि हत्या गर्ने बाबुलाई प्रहरीले नियन्त्रणमा लिएको थियो।
नियन्त्रणमा लिएको यादवलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट मुलुकी अपराधसंहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत मुद्दा दर्ता गरेर जिल्ला अदालत रौतहटबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्यअगाडि बढाइएको प्रवक्ता कार्कीले जानकारी दिए।
