सिरियामा बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिए
उत्तरपश्चिम सिरियामा शासक पक्षले गरेको बमबारीमा परी कम्तीमा १४ सर्वसाधारण मारिएका छन्।

सो बमबारीमा परी सात बालबालिकासहित १४ सर्वसाधारणको मृत्यु भएको युद्धलाई निरीक्षण गरिरहेको एक मानव अधिकारवादी समूहले शनिबार जानकारी दिएको छ।
शुक्रबार राति अबेर इद्लिब प्रान्तको महम्बेल गाउँमा युद्धक विमान र हेलिकोप्टरबाट गरेको हवाई आक्रमणमा परी सात बालबालिकासहित १३ सर्वसाधारण मारिएका सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्सले जनाएको छ।
इद्लिब प्रान्तको दक्षिण भागमा रहेको खान सैखुन शहरको बाहिरी इलाकामा सरकार पक्षबाट भएको रकेट आक्रमणमा शनिबार बिहान एक महिलाको मृत्यु भएको बेलायलआबद्ध मानव अधिकार समूहले जानकारी दिएको छ।
सिरियाली विद्रोही समूहको बलियो पकड रहेको इद्लिब प्रान्तमा ३० लाख व्यक्तिको बसोबास रहेको र यस शहरलाई सरकारी पक्षले पुनः कब्जामा लिएको थियो।
रुसको समर्थन रहेको सिरियाली सरकार र विद्रोही समूहबीच गत आठवर्ष यता गृहयुद्ध जारी रहेको छ। सिरियामा सन् २०११ को मार्च महिनाबाट यहाँका राष्ट्रपति बसर अल असदको राजिनामाको माग गर्दै जनआन्दोलन शुरु भएको थियो।