भारतीयसामू ‘झुकेको’ भन्दै सत्तारूढ दलबाटै सरकारको आलोचना
सत्तारुढ नेकपाका सांसदहरुले भारतबाट आयात गर्ने तरकारी र फलफूलमा विषादी जाँच गर्ने निर्णय फिर्ता लिएकोमा सरकारको चर्को आलोचना गरेका छन् । उनीहरुले भारतीय दबावकै कारण निर्णय फिर्ता लिएको हो भनेर प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई प्रश्न गरेका छन् ।
प्रधानमन्त्री ओलीले भने दबाव नभई पूर्वधार नभएकाले निर्णय फिर्ता लिएको बताएका छन् ।
बानेश्वरस्थित संसद भवन परिसरमा बसेको संसदीय दलको बैठकमा नेकपा सांसदहरुले भारतीय दबावसामू सरकार झुकेको आरोप लगाएका थिए । भीम रावल लगायतका सांसदहरुले नेपालले विषादी जाँच्छु भन्दा भारतले नगर भन्नु र सरकार पछि हट्नु गलत भएको बताएका छन् ।
बैठकपछि वरिष्ठ नेता माधवकुमार नेपालले हतारमा निर्णय गर्ने, फुर्सदमा पछुताउने गर्न नहुने प्रतिक्रिया दिए । सरकारले विषादीयुक्त खाद्यान्न प्रयोग नभएको विश्वास जनतालाई दिलाउन सक्नुपर्ने भन्दै उनले सरकार कसैको दबाबको सामु झुक्नु जरुरी नरहेकाे बताए।