शिक्षक शिक्षिकानै सिरिन्ज आक्रमणमा सम्लग्न

173








बनेपामा एक सातादेखि सिरिञ्ज आक्रमणका घटना ह्वात्तै बढेको छ । एक सातामा एक दर्जनभन्दा धेरै सिरिञ्ज आक्रमणको घटना घटिरहेका छन् । प्रहरीले सादा पोशाकमा प्रहरी परिचालन गरेको बताएपनि सोमवार दिउँसो १ बजे बनेपामा भएको सिरिञ्ज आंतकले नौलो मोड लिएको छ ।




काठमाण्डौंवाट धुलिखेल जाँदै गरेको काभ्रे बस व्यवसायीको बसमा आँउदै गरेकी युवतीले एक्कासी गुहार मागिन् । १८ बर्षीय युवतीले पाखुरामा धारिलो चिजले घोचेपछि उनी कराईन् । त्यसपछि उनीभन्दा पछाडी बसेका एक युवाले ओर्लन हतार गरेपछि उनलाई आशंकामै स्थानीयले नियन्त्रणमा लिए ।

बनेपाको चारदोवाटोवाट गाडी चढेको युवतीले आफूलाई धारिलो चिजले घोचेको बताईन् । ‘मलाई घोचेपछि बसमै रहेका युवा पनि हतास जस्तो देखिएपछि बसमा रहेका व्यक्तिहरुले नियन्त्रणमा लिनु भयो’ उनले भनिन् । प्रहरीले युवासँगै सिरिञ्जले घोचेको आशंकामा बनेपाकै एक युवतीलाई समेत नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका युवा स्याङ्जाको वालिङको सामुदायिक विद्यालयमा अध्यापन गर्ने शिक्षक हुन् भने महिला काभ्रेको बनेपामा रहेको प्रगती प्रभात माध्यामिक विद्यालयकी शिक्षिका हुन् । पक्राउ परेका शिक्षक तथा शिक्षिका दुबैले आफूहरु सो घटनामा संम्लग्न नरहेको बताउँदै आएका छन् ।

काभ्रेमा विगत दुई सातादेखि सुरु भएको सिरिञ्ज आंतकवाट एक दर्जनभन्दा धेरै पिडित भएको भन्दै प्रहरी कार्यालयमा आएर निवेदन दिएका छन् । सिरिञ्ज आक्रमण परेको भन्नेमा स्कूलका विद्यार्थीहरु समेत रहेका छन् । प्रगती प्रभात माविमा पढ्ने विद्यार्थीहरु समेत सिरिञ्ज आक्रमणमा यसअघिनै परिसकेका छन् ।

काभ्रेमा आंतकजस्तो देखिएपनि सिरिञ्ज आक्रमणनै नभएको दावी प्रहरीको छ । पहिलो घटना बाहेकका अरु घटनाहरुमा सिरिञ्जकै प्रयोग भएको देखिदैन जिल्ला प्रहरी कार्यालय काभ्रेका एसपी जयराज सापकोटाले भने । उनले काभ्रेको बनेपा आसपासमा केही दिनदेखि घारिलो चिजले घोचेको भन्दै उजुरी आउने क्रम बढेपनि सिरिञ्जकै कारणले हो भन्ने पुष्टि भने नभएको एसपी सापकोटाले बताए ।

सिरिञ्ज आक्रमणको हल्लासँगै आक्रोसित भिडले केही समय अरनिको राजमार्ग अबरोध समेत भएको थियो । अवरोधसँगै प्रहरीले आरोपीलाई इलाका प्रहरी कार्यालय बनेपामा लिएर गएपछि केहीबेर बनेपा तनावग्रस्त भएको थियो ।

पिडित युवतीको प्रारम्भिक उपचार बनेपामा गरेसँगै सरुवा रोग नियन्त्रण केन्द्र टेकुमा लगेर उपचार सुरु भएको छ । युवतीका आफन्तले टेकुका चिकित्सकहरुले धारिलो चिजले घोचेको देखिएको बताएका छन् । – @rajdhanidaily



You might also like
Loading...