ओखलढुङ्गा बस दुर्घटना: तीन जनाको मृत्यु, १७ घाइते
असार, २५ बुधबार । ओखलढुङ्गामा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। काँकडभिट्टाबाट सोलुखुम्बु जाँदै गरेको मे १ ख १८९१ नम्बरको बस ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–६ डुडुवामा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको हो। दुर्घटनामा १७ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ।

दुर्घटनामा ड्राइभरसहित २ जना पुरुष र एक महिलाको दुर्घटना स्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। मृत्यु हुनेमा बसका चालक झापाका ४२ वर्षीय कृष्णबहादुर बस्नेत, सोलुदूधकुण्ड नगरपालिका–५ की ५२ वर्षीया माया थापा र सिन्धुलीको कमलामाई नगरपालिका–१४ का ३० वर्षीय लालबहादुर धामी रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।
बुधबार बिहान सवा ३ बजे तिर दुर्घटना भएको प्रहरीले जनाएको छ। स्थानीय बासिन्दाको पहलमा उद्धार जारी राखेको प्रहरीले जनाएको छ।
बस दुर्घटनाका घाइतेलाई उपचारका लागि काठमाडौं पठाइएको छ। घाइतेमध्ये चार जनालाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
पाल्पा घर भई रुपन्देहीमा कार्यरत सशस्त्र प्रहरी जवानको नवलपरासीको दुर्घटनामा मृत्यु