बाढी र पहिरोले ठाउँठाउँमा डुबान र सडक अवरुद्ध

191








लगातारको बर्षा पछि नेपालका विभिन्न ठाउँमा डुबान शुरु भएको छ। त्यसैगरी बाढीकै कारण सडक आसपासका क्षेत्रमा पहिरो खस्दा ठाउँठाउँमा सडक अवरुद्ध हुन थालेको छ।

अविरल वर्षापछि सिंगिया खोलामा आएको बाढीले विराटनगर महानगरपालिकाका ३ वडाका विभिन्न बस्ती डुवानमा परेका छन् । महानगरपालिकाका १, २ र ८ वडाका बस्ती शुक्रबार बिहान डुबानमा परेका हुन् ।




सिंगियाको बाढीले विराटनगर–१ को परोपकार घाट आसपासमा रहेको सुकुम्बासी बस्ती डुबाएकाे छ । यो वस्तीमा करिब ५० घर रहेको र उनीहरूलाई बिहीबार राति नै सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार, विराटनगर महानगरपालिका–२ र ८ का वस्ती पनि डुबानमा परेका छन् । यद्यपि, यी क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा सारिएकाले मानवीय क्षति भने भएको छैन ।

बिहीबारदेखि सुरु वर्षा यथावत रहेकाले विराटनगर महानगरपालिकासँगै जिल्लाका अन्य स्थानको जनजीवन पनि अस्तव्यस्त बनेको छ ।

गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध

गुल्मीमा लगातार तीन दिनसम्म परेको वर्षाका कारण गुल्मीको रुद्रवेणी–वामीटक्सार सडकखण्ड अवरुद्ध बनेको छ । गुल्मीको सत्यती गाउँपालिकाअन्तर्गत लुम्दीखोला , उल्र्लीखोलास्थित डहरेखोला र बादरेपैह्रो पहिरो खसेपछि गए रातिदेखि उक्त सडक अवरुद्ध बनेको गाउँपालिकाका अध्यक्ष पारिश्वर ढकालले जानकारी दिए ।

विहीबार डोजर लगाएर पहिरो हटाएपछि सञ्चालन भएको सो सडक गए रातिदेखि पुनः अवरुद्ध बनेको हो । जिल्लामा सबैभन्दा बढी सवारीसाधन सञ्चालन हुने सडक अवरुद्ध बनेपछि सयौँ यात्रु र सवारीसाधन बीच बाटोमै अलपत्र परेका छन् । अवरुद्ध सडक सञ्चालन गर्न आज बिहानैदेखि गाउँपालिकाले डोजर सञ्चालन गरी पहिरो हटाउन शुरु गरेको अध्यक्ष ढकालले जानकारी दिए । वर्षाका कारण गुल्मीका एक दर्जनभन्दा बढी ग्रामीण सडकसमेत अवरुद्ध बनेका छन् । सडक अवरुद्ध बनेपछि सवारीसाधन सञ्चालन नहुँदा सदरमुकाम तम्घासमा आउने सेवाग्राहीलाई समेत समस्या भएको छ ।

पहिरोले विपी र मध्यपहाडी राजमार्ग अवरुद्ध

सडकमा पहिरो खसेपछि गए रातिदेखि विपी राजमार्ग र मध्यपहाडी लोकमार्ग अवरुद्ध भएको छ । गोलन्जोर र सुनकोशी गाउँपालिकामा विपी राजमार्ग अवरुद्ध भएको छ ।

गए राति गोलन्जोर गाउँपालिका–५ को सोलाभञ्याङ र खनियाखर्कको बीचमा सडकमा माथिबाट पहिरो खसेपछि राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक चक्रबहादुर सिंहले जानकारी दिए ।

यस्तै सुनकोशी गाउँपालिका–१ कमरेमा पनि पहिरोका कारण विपी राजमार्ग अवरुद्ध भएको उहाँले जानकारी दिए। उनका अनुसार पहिरोका कारण राजमार्ग अवरुद्ध भएपछि अहिले पहिरो पन्छाउने तयारी भइरहेको छ ।

यसैबीच माथिबाट खसेको पहिरोका कारण गोलन्जोर गाउँपालिकाअन्र्तगत मध्यपहाडी लोकमार्ग पनि अवरुद्ध भएको छ । अवरुद्ध राजमार्ग हटाई सवारी आवागमन सञ्चालन गर्न गाउँपालिका अध्यक्षसँग समन्वय भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिन्धुलीका प्रमुख विष्णु बस्नेतले जानकारी दिए ।

वर्षाका कारण लहानकाे बजारक्षेत्र र सरकारी कार्यालय जलमग्न

लगातारको वर्षाका कारण सदरमुकाम सिरहासहितका बजार क्षेत्र र सरकारी कार्यालय जलमग्न भएका छन् । विगत पाँच दिनदेखिको अविरल वर्षाका कारण सदरमुकाम सिरहामा सडकबाटै पानी बग्न थालेपछि आवतजावतमा समेत समस्या भइरहेको स्थानीयवासीले बताएका छन् ।

पानीको निकास नहुँदा सदरमुकामस्थित तत्कालीन जिल्ला कृषि विकास कार्यालय, जिल्ला पशु सेवा कार्यालय, नेपाल विद्युत् प्राधिकरण कार्यालय, जिल्ला प्रहरी कार्यालयलगायतका सरकारी कार्यालय जलमग्न भएका छन् ।

यस्तै पानीको सतह बढेपछि सिरहाको गोलबजारका केही क्षेत्र जलमग्न भएको छ भने पूर्वपश्चिम राजमार्गमै पानी जमेको छ । अविरल वर्षाका कारण इलाका प्रहरी कार्यालय लहानसमेत जलमग्न भएको छ । कार्यालय परिसरमा करीब तीन/चार फिटसम्म पानी जम्दा पीडितलाई कार्यालयसम्म पुग्न समस्या भइरहेको छ ।

पानीको कुनै निकास नभएको र वर्षा अझै जारी रहेकाले कार्यालय परिसरमा पानीको सतह बढ्ने सम्भावना रहेको इलाका प्रहरी कार्यालय लहानका प्रहरी नायब उपरीक्षक भेषराज रिजालले जानकारी दिए । यता, वर्षाका कारण अहिलेसम्म कुनै भौतिक तथा मानवीय क्षति नभएको सिरहाका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अधिकारीले जानकारी दिए ।

जलमग्न जनकपुर 

अविरल वर्षाका कारण जनकपुरधाम उपमहानगरपालिका जलमग्न भएको छ । वर्षाले नगरका सडक जलाशयमा परिणत भएको छ भने उपनगरपालिकाको घर–घरमा पानी पसेको छ ।

निकास नभएका कारण जनकपुरधामस्थित सरकारी कार्यालय डुबानमा परेको छ । जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, वन कार्यालय, आन्तरिक राजश्व कार्यालय, राष्ट्रिय समाचार समिति, हुलाक कार्यालय, वन निर्देशनालयलगायतका कार्यालय परिसरमा तीन फिटसम्म पानी जमेको छ ।

बरुवा नदीको बाँध फुट्ने खतरा, गाईघाट बजार जोखिममा

निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।

तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताउनुभयो । बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताए ।

स्थायीरूपमा बरुवा नदीमा बाँध निर्माण नहुनु र पुराना संरचनामा निर्माण गरिएको बाँध यसभन्दा अघि पनि पटक–पटक विसं २०३१, २०३९ र २०५७ मा भत्किएको नगरपालिका–११ का ८१ वर्षीय महलशेर राई बताउछन् । विगतमा तीनपटक बाँध भत्कँदा गाईघाटका धेरै घर डुबानमा परेको र धेरै स्थानीय बासिन्दा विस्थापित भएका थिए । स्थानीय सरकार र केन्द्र सरकारले स्थायीरूपमा पक्की बाँध निर्माण नगर्दा वर्षेनी बाँध भत्कँदै गएको र नदीले कटान गर्दै लगेपछि अहिले गाईघाटको शिवालयटोल, साकेलाटोल र गाईघाट बजारसहित दुई हजारभन्दा बढी घरहरु जोखिममा परेको गाईघाट सङ्गमटोलका स्थानीयवासी हर्कबहादुर बस्नेत बताउछन् ।

सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध

सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुङ्गामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सिद्धिचरण लोकमार्ग क्षेत्रमा भदौरेखोलाको बाढीले सडकखण्डमा ढुङ्गा, बालुवालगायत अन्य वस्तु थुपारेपछि इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले साँझपख सडक खुलाए पनि फेरि गए राति पुरिएका कारण सडक अवरुद्ध भएको हो ।

पहिरोले पाल्पा–बुटवल सडक एकतर्फी

 



You might also like
Loading...