मध्यविन्दु जिल्ला अस्पतालमा डा. गोपाल खनाल अध्यक्षमा नियुक्ति, डा. खनालद्वारा पदभार ग्रहण, तत्कालिन अध्यक्ष वेखबर


कावासोती, १ साउन । डा. गोपाल खनाल मध्यविन्दु जिल्ला अस्पताल कावासोती १६ डण्डाको अध्यक्षमा नियुक्त भएका छन् ।
यस अघि सामुदायिक अस्पताल रहेको मध्यविन्दु सहिद स्मृति सामुदायिक अस्पताल जिल्ला अस्पताल भएपछि डा. गोपाल खनाल अध्यक्षमा नियुक्त भएका हुन् । उनले बुधबार पदभार ग्रहण गरेका छन् ।



तस्वीरः भरत पोख्रेल

उनलाई अस्पतालका कर्मचारी र केही स्थानीयले पदभार ग्रहण गराएका थिए ।
उनले अस्पतालको अध्यक्ष भएर आएपछि पदभार ग्रहण गर्दा केही बेर अघिसम्म अस्पतालको अध्यक्ष बनेर अस्पतालको रेखदेर गरिरहेका अध्यक्ष चेतनाथ पोख्र्रेले भने वेखबर थिए ।
उनले भने – म केही बेर अघिसम्म अस्पतालमै थिएँ । यसो खाना खाएर फर्केर आउँदा डा. खनाल अध्यक्ष भएर आउनु भएछ । पदभार ग्रहण गर्नु भएछ । मैले पछि मात्र थाहा पाएँ ।




तस्वीरः भरत पोख्रेल

जिल्ला अस्पतालको रुपमा सरकारी अस्पताल भएपछि जिल्ला अस्पतालमा सरकारले नै अध्यक्ष नियुक्त गर्दछ भने स्थानीय तहको प्रतिनिधि, उद्योग वाणिज्य संघका प्रतिनिधि लगायत विभिन्न संघसंस्थाका प्रतिनिधिहरु पदेन सदस्य हुने प्रावधान छ ।
पोख्रेलले भने – हामीले जिल्ला अस्पताल बनाउन पहल गर्यौं भयो पनि, हाम्रो लागि त्यही हो उपलब्धी, सरकारले अध्यक्ष नियुक्त गर्ने हो, त्यसमा मेरो केही भन्नु छैन । पद हस्तान्तरण गर्न पाए हुन्थ्यो भन्ने थियो । त्यही पनि केही छैन, ठिक्कै छ ।

डा. खनाललाई अस्पतालका कर्मचारीहरुले स्वागत गरेका थिए । डा. खनालले प्रदेश सरकारले अध्यक्षमा नियुक्त गरेको पत्र अस्पतालमा बुझाएर अध्यक्षको जिम्मेवारी सम्हालेका थिए ।



सम्बन्धित
Loading...