सामाजिक सञ्जालमा हुने विज्ञापन भुक्तानीलाई कानुनी दायरामा ल्याइँदै

397








सरकारले फेसबुक, इन्स्टाग्रामलगायतका सामाजिक सञ्जालबाट हुने विज्ञापनको भुक्तानीलाई कानुनी दायरामा ल्याउने भएको छ । चालू आर्थिक वर्ष २०७६/०७७ को मौद्रिक नीतिमार्फत नेपाल राष्ट्र बैंकले सामाजिक सञ्जालको विज्ञापन भुक्तानीलाई कानुनी दायरामा ल्याउन नीतिगत व्यवस्था गर्ने भएको हो ।




‘सामाजिक सञ्जाल तथा अनलाइनमार्फत हुने विज्ञापनवापत विदेशी मुद्रामा हुने भुक्तानी तथा प्राप्तिको व्यवस्थापन गर्न आवश्यक नीति तर्जुमा गरी कार्यान्वयन गरिनेछ,’ मौद्रिक नीतिको १३७औं बुँदामा उल्लेख छ ।

अहिले फेसबुकलगायतका सामाजिक सञ्जाल र अनलाइनमा गरिने विज्ञापनको ठूलो रकम कानुनी दायरामा आउन सकेको छैन ।

नेपाली बैंकमा एकाउन्ट भएर फेसबुकमा विज्ञापन दिन वा देशबाहिरका अनलाइन स्टोरबाट सामान अर्डर गर्न सकिँदैन । नेपाली ब्रान्ड, सामान र सेवाका प्रशस्त विज्ञापन भने फेसबुक, म्यासेन्जर र युट्युबमा भेटिन्छन् ।

यसका लागि विज्ञापन प्रदायकहरूको आफ्नै तरिका छ । सामाजिक सञ्जालमा राखिएका त्यस्ता विज्ञापनको भुक्तानी नेपालबाट गरिएको हुँदैन । व्यक्तिगत रूपमा विज्ञापन दिनेले विदेशमा रहेका आफ्ना साथीभाइ वा आफन्तको एकाउन्टबाट तिर्छन् भने संस्थागत रूपमा तिर्नेले यस्तै कुनै तरिका अपनाउँछन् । यसैकारण सामाजिक सञ्जालमा नेपाली विज्ञापन देखिए पनि नेपालबाट त्यस्ता सञ्जालले कति कमाउँछन् भन्ने तथ्यांक छैन ।

यसरी कानुनी दायरामा आउन नसकेको विज्ञापन भुक्तानीलाई सरकारले कानुन बनाएरै नियमन गर्ने तयारी गरेको छ । संसदमा सरकारले सूचना प्रविधिको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ पेस गरेको छ जसमा सामाजिक सञ्जालमा गरिने विज्ञापनको विषय पनि समेटिएको छ ।



You might also like
Loading...