शिवराजमा एक बर्ष ११५ मध्ये ५३ मुद्दा किनारा
रामअवतार चौधरी
कपिलवस्तु ८ साउन ।
कपिलवस्तुको शिवराज नगरपालिकाको न्यायिक समितिले आर्थिक बर्ष ०७५/०७६ मा परेका १ सय १५ वटा मुद्दा मध्ये ५३ वटा मुद्दा फछ्यौट भएको छ । न्यायिक समितिमा परेका विभिन्न उजुरीहरु मध्ये गत आर्थिक बर्षमा विवादित पक्ष संग छलफल गरी मुद्दा फछ्यौट गरिएको हो ।

गत आर्थिक बर्षमा न्यायिक समितिमा जम्मा १ सय १५ वटा मुद्धा परेकोमा ५३ वटा मुद्धा किनारा लागेको न्यायिक समिति संयोजक नगर उप–प्रमुख शिवकुमारी थारुले बताए ।
बुधबार आफ्नै कार्यकक्षमा नियमित कार्यक्रम अन्तर्गत पत्रकारहरु सँगको भेटमा उप–प्रमुख थारुले सो जानकारी गराउनु भएको हो ।
गत आर्थिक बर्षमा इज्जत आमद अनुसार खान लाउन नदिएको २६ वटा मुदद्दा, बाटो निकास सम्बन्धि विवाद २१ वटा, घर जग्गा सम्बन्धि विवाद २१, गाली बेइज्जत ६, कुटपिट ७, कुलो पानी निकास सम्बन्धि ६, ज्येष्ठ नागरिक पोषण सम्बन्धि २, फोहोर मैला व्यवस्थापन सम्बन्धि २, सम्बन्ध विच्छेद २ र अन्य २२ गरि १ सय १५ वटा मुद्धा परेको थारुले बताए ।
न्यायिक समितिमा परेका मुद्दा मध्ये, इज्जत आमद अनुसार खान लाउन नदिएको १६ वटा किनारा लागेको, बाटो निकास सम्बन्धि ६ वटा, घरजग्गा सम्बन्धि विवादको ७ वटा, गाली बेइज्जतको २, कुटपिटको ३, कुलोपानी निकास सम्बन्धि ३, जेष्ठ नागरिक पालन पोषण सम्बन्धि १, फोहोर मैला सम्बन्धि १, सम्बन्ध विचछेदको १ र अन्यको १३ वटा मुद्धा किनारा लागेको उप–प्रमुख थारुले बताए ।
न्यायिक समितिले मेलमिलाप समितिमा इज्जत आमद अनुसार खान लाउन नदिएको ३ वटा, बाटो निकास सम्बन्धि विवादको ३ वटा, अन्यको ६ वटा गरि १२ वटा मुद्धा पठाएको उनले जानकारी दिए ।
जनतामा न्यायिक समिति प्रति विश्वास जागेकोले अड्डा अदालत नगई न्यायिक समितिमा उजुरी दिन आएको उप–प्रमुख थारुले बताए ।
१ सय १५ वटा मुद्धा मध्ये चालु अवस्थामा ५० वटा मुद्दा रहेको र ती मुद्धा पनि छिट्टै किनारा लाग्ने उनले बताए ।