क्षेप्यास्त्र परीक्षण दक्षिण कोरियाका लागि ‘औपचारिक चेतावनी’
उत्तर कोरियाले बिहीवार गरिएका दुईवटा नयाँ क्षेप्यास्त्र प्रक्षेपण ‘युद्ध चाहने दक्षिण कोरियालीहरू’ का लागि ‘एउटा औपचारिक चेतावनी’ भएको जनाएको छ।
उत्तर कोरियाको पूर्वी तटीय क्षेत्र वोन्सानबाट ‘इस्ट सी’ भनेर पनि चिनिने ‘सी अफ जापान’ मा छोटो दूरीका क्षेप्यास्त्रहरू प्रहार गरिएका थिए।
उत्तर कोरियाली नेता किम जङ-अनले ‘सम्भावित तथा प्रत्यक्ष खतराहरूको सामना गर्नका लागि’ अस्त्रहरूको विकास गर्न आफ्नो मुलुक बाध्य भएको बताएका छन्।
दक्षिण कोरियाका सेना प्रमुखका अनुसार एउटा क्षेप्यास्त्रले करिब ६९० किलोमिटर दूरीसम्म यात्रा गरेको थियो।
संयुक्त राज्य अमेरिकाले पनि ती क्षेप्यास्त्रहरू ‘छोटो दूरीको’ भएको पुष्टि गरेको छ। ती क्षेप्यास्त्रहरू आफ्नो जलक्षेत्रसम्म नपुगेको जापानले जनाएको छ।
किमले नयाँ अस्त्र प्रणालीबाट ‘सन्तुष्ट’ भएको र त्यसको ‘प्रतिरक्षा गर्न सहज नहुने’ दाबी गरेका छन्।
दक्षिण कोरियाले ‘चेतावनीलाई बेवास्ता गरेर भूल गर्न नहुने’ उनको भनाइ छ।