नेपालले कुवेतमाथि सात विकेटको जित


कप्तान पारस खड्काको विष्फोटक अर्धशतक तथा बसन्त रेग्मी र सन्दीप लामिछानेको शशक्त स्पिन बलिङले कुवेतलाई ७ विकेटले पराजित गरी नेपाल आईसीसी ट्वान्टी२० विश्वक एसिया छनोटको उपाधिमा एक जित टाढा पुगेको छ ।



आइतबार सिंगापुरलाई पराजित गर्न सके नेपालले अक्टोबर ११ देखि नोभेम्बर ३ सम्म युएईमा हुने ट्वान्टी२० विश्वकपको ग्लोबल छनोटमा स्थान बनाउनेछ ।

कुवेतले दिएको १ सय ४२ रनको लक्ष्य नेपालले १५.५ ओभरमा ३ विकेटको क्षतिमा पूरा गरेको हो । नेपालका लागि कप्तान पारस खड्काले उत्कृष्ट अर्धशतकीय पारी खेले । उनले ४२ बलमा ११ चौका र १ छक्काको सहयोगमा ६८ रनको शानदार पारी खेले ।

कप्तान पारसले उपकप्तान ज्ञानेन्द्र मल्लसँग मिलेर पहिलो विकेटका लागि ४४ रनको साझेदारी गरेका थिए । ३.५ ओभरमा कुवेतका कप्तान मोेहम्मद कासिफको बलमा आउट भएका ज्ञानेन्द्रले १३ बलमा १९ रन जोडे । उनले २ चौका र १ छक्का प्रहार गरे ।

तेस्रो नम्बरमा आएर शरद भेषावकरसँग मिलेर कप्तान पारसले दोस्रो विकेटका लागि ७८ रनको कीर्तिमानी साझेदारी गरेपछि नेपालको सहज जित निश्चित भएको हो ।

१३.१ ओभरमा पारस ६८ रनको स्कोरमा आउट हुनुअघि उनले शरदसँग गरेको साझेदारी ट्वान्टी२० अन्तर्राष्ट्रिमा नेपाली ब्याट्सम्यानले गरेको सर्बाधिक साझेदारी हो । यसअघि मलेसियाबिरुद्धको खेलमा ज्ञानेन्द्र मल्ल र प्रदीप ऐरीले ६६ रनको साझेदारी गरी कीर्तिमान राखेका थिए ।

पारस आउट हुँदा नेपाललाई जितका लागि २० रन आवश्यक थियो । तर दीपेन्द्र सिंह ऐेरी अनावश्यक शट खेल्न लाग्दा मोहम्मद कासिफकै बलमा आउट भए । त्यसपछि आएका यू१९ कप्तान रोहित कुमार पौडेलले अविजित ६ रन बनाए । १५.५ ओभरमा मोहम्मद कासिफकै बलमा शरद भेषावकरले छक्का प्रहार गर्दै नेपाललाई ७ विकेटको जित दिलाए । उत्कृष्ट फिनिसरको रुपमा शरदले ३० बलमा ४ चौका र १ छक्काका साथ अविजित ३८ रन जोडे । कुवेतका लागि तीनै विकेट कासिफले लिए ।




सम्बन्धित
Loading...