सिंगापुरसँग लज्जास्पद हार, नेपालको टी-२० विश्वकप सपना अधुरै


सिंगापुरसँग लज्जापद हारसँगै नेपालको टी-२० विश्वकप खेल्ने सपना अधुरै रहृयो ।



आइतबार भएको खेलमा नेपाललाई ८२ रनको फराकिलो अन्तरले हराउँदै सिंगापुर एसिया फाइनलको उपाधि मात्र जितेन, विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ ।

१९२ रनको लक्ष्य पछ्याएको नेपालले १५ ओभरमा सबै विकेट गुमाएर १०९ रन मात्र बनाउन सक्यो । औषत सुरुवात गरेको नेपालका कप्तान पारस खड्का व्यक्तिगत १२ रनमा आउट भए । ज्ञानेन्द्र मल्लले २१ बलमा ३९ रन बनाए ।




उपकप्तान मल्ल दोस्रो विकेटका रुपमा आउट हुँदा नेपालको स्कोर ५४ रन थियो । त्यसपछि नेपाल सम्हालिनै सकेन । एकपछि अर्को विकेट गुमाइरहृयो ।

नेपाललाई दिइएको उपविजेता पदक खोसियो

सिंगापुरमा नेपाली क्रिकेट टिमले दोहोरो पीडा भोग्नु परेको छ ।

आयोजक सिंगापुरसँग ८२ रनले हारेपछि नेपाल टी-२० विश्वकपको ग्लोबल छनोटमा पुग्न सकेन । यो नेपाली टोलीका लागि ठूलो झड्का थियो ।

अर्को झड्का त्यसबेला लाग्यो, जब उपविजेताको पदक खोसियो ।

आयोजकले सुरुमा नेपाललाई उपविजेता घोषणा गर्दै सबै खेलाडीलाई मेडल लगाइदियो । सुरुमा अविनाश बोहोरा गए, त्यसपछि कप्तान पारस खड्का । अरुले पालैपालो उपविजेताको मेडल लगाए ।

त्यसपछि विजेता सिंगापुरका खेलाडीहरुलाई मेडल दिइयो । सिंगापुरका खेलाडीहरुले ट्रफी उचाले । जब नेपाललाई उपविजेताको ट्रफी दिने बेला आयो, नेपाली खेलाडीहरुले घाँटीमा लगाएको मेडल पनि खोसियो ।

समान ४-४ अंक भएपनि कतार रन रेटका आधारमा अगाडि रहेकाले नेपाल तेस्रो भएको घोषणा गरियो ।
नेपाली खेलाडीहरुको मेडल टिम म्यानेजर रमन सिवाकोटीले एकमुष्ट फिर्ता गरेका छन् ।

प्रतियोगिताको उपविजेता कतार नै हो । तर सुरुमा हतारमा नेपाललाई उपविजेता घोषणा गर्दै खेलाडीलाई मेडल लगाउनु आयोजकको गल्ती थियो ।

आयोजकले गल्ती विश्वकपको ग्लोबल छनोटमा पुग्न नसकेको पीडामा रहेका नेपाली खेलाडीहरुलाई आलो घाउमा नुनचुक छरे जस्तै सावित भयो ।



सम्बन्धित
Loading...