अशक्त किशोरीमाथि सामूहिक बलात्कारको घटना डेढ लाखमा मिलापत्र !


मोरङमा अशक्त किशोरीमाथि भएको सामूहिक बलात्कारको घटना मिलापत्र गरी सामसुस पार्न खोजिएको छ । अशक्त किशोरीमाथि भएको बलात्कार प्रहरीसम्म पुग्न नदिई गाउँमै पञ्चायती राखेर १ लाख ५० हजार रुपैयाँ लेनदेनमा मिलापत्र गर्न खोजिएको हो ।



घटना गत असार २० गते हो । पीडितका अनुसार मोरङको रंगेली नगरपालिका–९ सखुवाथानकी १६ वर्षकी अशक्त किशोरीमाथि तीनजनाले सामूहिक बलात्कार गरेका थिए । असार २६ गते गाउँमै भएको पञ्चायतीमा प्रतिव्यक्ति ५० हजार रुपैयाँका दरले क्षतिपूर्ति दिने सहमति गर्दै पीडित परिवारलाई घटना सार्वजनिक नगर्न नल्याउन दबाव दिएका थिए ।




बलात्कारको घटनामा मिलापत्र गराएको जानकारी पाएलगत्तै प्रहरीले रङ्गेली ९ संखुवाथानका २५ वर्षीय रोमन मगर र २४ वर्षीय प्रिन्स अधिकारीलाई पक्राउ गरेको छ । घटनामा संलग्न भनिएका २३ वर्षका सुनील चौधरी फरार छन् । पक्राउ परेका दुई जनलाई करणीसम्बन्धी मुद्धामा अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय रंगेलीका प्रहरी निरीक्षक कविन्द्रकुमार कार्कीले बताए ।

प्रहरीका अनुसार गत असार २० राति मादक पदार्थ सेवन गरेका तीनजनाले चुरोट सल्काउन सलाई माग्ने निहुँमा किशोरीको घरमा पुगेका थिए । राति करिब साढे ८ बजेको समयमा शौचालय गर्न निस्किएकी किशोरीलाई घर नजिकैको धान कुट्ने मिलको बरण्डमा लगेर सामूहिक बलात्कार गरेको प्रहरीले बताएको छ । अशक्त किशोरी राम्रोसँग बोल्न र कान सुन्न सक्दिनन् ।

घटना बाहिर आएपछि गाउँका भद्रभलादमीले पीडितलाई सहीछाप गराएर १ लाख ५० हजार रुपैंया दिने सर्तमा मिलापत्र गराएका हुन् । मिलापत्र गराउने क्रममा स्थानीय ९ जना मानिस सहभागी थिए ।

प्रहरी निरीक्षक कार्कीका अनुसार पीडित किशोरी बिपन्न परिवारकी हुन् । उनकी आमा दोस्रो विवाह गरेर गएकी छन् । बुबाको पनि घर नभएका कारण किशोरी फूपूको घरमा बसेकी थिइन् । तर घटना भएपछि पीडित परिवारलाई गाउँलेले प्रहरी सम्म पुग्न दिएनन् ।



सम्बन्धित
Loading...