६० बर्षको अन्तरालमा नभएको विकास ५ बर्षमा गरेर देखाउने छुः गैडाकोट नगर प्रमुख पौडेल


 



गैडाकोट नगरपालिका चितवन जिल्लासँग जोडिएको नगरपालिका हो अझ भरतपुर महानगरपालिकासँग जोडिएको नगरपालिका । यो नगरपालिका पूर्वी नवलपरासीमा रहे पनि यहाँका रहनसहन, आयातनिर्यात, विकासको पूर्वाधार लगायतका अधिकांश कुराहरु चितवनसँग जोडेर हेर्ने गरिन्छ । कतिपय गैडाकोटका राम्रा पक्षहरु पनि चितवन जिल्ला र भरतपुर महानगरपालिकाको अगाडि ओझेलमा पर्ने गर्दछ । तथापि यो नगरपालिका कृषि त्यसमा पनि मकै र दुध उत्पादनमा राम्रो क्षेत्रको रुपमा गनिने गर्दछ । गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलसँग रामकुमार श्रेष्ठले गर्नुभएको कुराकानीको संपादित अंश




तपाईको आफ्नो दुई बर्षको कार्यकाललाई फर्केर हेर्ने हो भने कसरी हेर्नु हुन्छ ?

सपथ खाएर आइसकेपछि दुई बर्षको मूल्यांकनलाई हर्ने हो भने कृषिको क्षेत्रमा राम्रो भएको छ म सन्तुष्ट छु । गैडाकोट नगरपालिकाको वडा नं. १८, १४ र ३ नम्बर वडामा मासु पकेट क्षेत्रको रुपमा विकास गर्न बाख्रा पालनलाई अगाडि बढाएका छौं । प्रधानमन्त्री सुन्तला पकेट कार्यक्रम अन्तरगत गैडाकोट १८ मा सुन्तला खेती शुरु भएको छ भने केरा खेती पनि शुरु गर्न थालेका छौं । गैडाकोट नगरपालिकाको मुख्य बजार क्षेत्र गैडाकोट १ देखि ९ नम्बर वडासम्म मकै पकेट क्षेत्रको रुपमा विकास गरेका छौं । गैडाकोट १० देखि १७ सम्म धान पकेट क्षेत्रको रुपमा अगाडि बढाउने गरी काम गरेका छौं । त्यसका लागि हामीले विशेष गरी भुमिगत सिचाईबाट कृषिलाई अगाडि बढाएका छौं । मलाई लाग्छ अबको दुई बर्षमा गैडाकोट नगरपालिका कृषिमा आत्म निर्भर हुने छ । त्यसतर्फ हाम्रा कार्यक्रमहरु अगाडि बढिरहेको छ । त्यसैगरी नारायणी नदी तटीय क्षेत्रमा तट्बन्धनको कार्यक्रमलाई अगाडि बढाएका छौं । गैडाकोट नगरपालिकामा विद्युत कै कुरा गर्ने हो भने अहिलेसम्म गैडाकोट १८ बाहेक अन्य क्षेत्रमा विद्युत पुगिसकेको छ । वडा नं. १८ लाई पनि विद्युतीकरण गर्न २ करोड बजेट विनियोजन भईसकेको छ । अबको एक बर्ष भित्र गैडाकोट नगरपालिका सम्पूर्ण क्षेत्र विद्युतीकरण भईसक्ने छ । हाम्रो पहिलो प्राथमिकता कृषि नै हो त्यसैमा बढी जोड दिएका छौं र कृषि क्षेत्रमा हामीले गरेको प्रगतिप्रति म पूर्ण सन्तुष्ट छु ।

गैडाकोट नगरपालिका समृद्ध नगरपालिका भनेर नगरपालिकाको मुख्य नारा जस्तै गरेर जताततै भित्तेलेखन गरिएको छ । त्यो कुरामा मात्रै हो कि साच्चै गैडाकोट नगरपालिका समृद्ध भएको छ ?

हामी सबैले हेर्न सक्छौं, हामी समृद्ध बनाउनका लागि शिक्षा, स्वास्थ्य, खानेपानीमा सबैको पहुच बढाएका छौं, हामीले अहिले उत्पादनलाई जोड दिएका छौं । हामीले कुनै पनि उत्पादनका वस्तु बाहिरबाट ल्याउनु भन्दा आफ्नै नगरपालिकालाई आत्मनिर्भर बनाउन लागेका छौं । खाद्यान्नमा आत्मनिर्भर बन्नका लागि हामीले भुमिगत जलसिचाईलाई पहिलो प्राथमिकता दिएर काम गरेका छौं । गैडाकोट नगरपालिका लगभगलगभग मकैमा आत्मनिर्भर भईसकेको छ । कृषि उत्पादनलाई बजार प्रबद्र्धन गर्न हामीले दुई तरिकाबाट काम शुरु गरेका छौं एउटा निजी क्षेत्रबाट र एउटा सहकारीबाट बजार प्रबद्र्धनमा लाग्नु भएको छ । भोलिका दिनमा हामी हाम्रो उत्पादनलाई बाहिर लगेर बेच्न सक्ने निजी क्षेत्रलाई पनि बेच्न सक्ने गरेर उत्पादन गर्नछौं । एक बर्षमा बाँकी क्षेत्रमा विद्युतीकरण हुँदैछ । शिक्षालाई त्यसरी नै अगाडि बढाएका छौं । स्वास्थ्यको कुरा गर्दा उपस्वास्थ्य चौकीहरुलाई बर्थिङ र ल्याप सेवा सहित अगाडि बढाएका छौं । उत्पादनकै कुरा गर्दा दुध नेपालकै ६५ प्रतिशत दुई यहीबाट उत्पादन भएको छ । निजी क्षेत्रसँगको सहकार्यमा ४९÷५१ प्रतिशतको साझेदारीमा दुध प्लाण्टको रुपमा यस क्षेत्रलाई विकास गर्दैछौं । पर्यटकीय क्षेत्रको रुपमा कुरा गर्दा गैडाकोट मैलाकालिकालाई केबुलकार सञ्चालन गर्दछौं। मौलाकालिकादेखि मुकुन्दसेन दरबार पैदलमार्ग खोल्नको लागि काम शुरु भईसकेको छ । ढबाहा ताल लगायतका विभिन्न क्षेत्रहरुलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्दैछौं ।

समृद्ध भनेको गरिब नहुनु होला भने पछि अब गैडाकोटका कुनै पनि नागरिक गरिब हुन्न ?

समृद्ध हुनु भनेको आत्मनिर्भर हुनु हो, गरिब नहुनु हो । त्यसका लागि सबैले काम गर्न पर्यो, स्वरोजगार बन्न पर्यो । कसलाई के सहयोग गर्न पर्छ हामी तयार छौं तर सबैले आत्मनिर्भर हुने गरेर काम गर्न पर्यो हामी पक्कै समृद्ध हुनेछौं । गैडाकोटबाट गरिबी निर्मुल हुने छ । त्यसका लागि हामीले पहिलो प्राथमिकता कृषिलाई राखेका छौं । हामी नेपाली ७५–७६ प्रतिशत नेपाली कृषिमा निर्भर छौं तर हामीले अचार बनाउन गोलभेडा किन्नु पर्छ अचारमै राख्ने खुर्सानी किन्ने गरेका छौं अनि कसै आत्मनिर्भर हुन्छौं । हामी समृद्धिमा जानका लागि कृषि, स्वरोजगार, आत्मनिर्भरमा जोड दिउँ । कृषिमै प्रथामिकता दिएर अहिले पनि हामीले सबैभन्दा बढी कृषिमा बजेट विनियोजन गरेका छौं । एउटा उदाहरण दिउ मानौं हामीले सिलाई कटाई तालिम सञ्चालन गर्यौं भने तालिममा सहभागीलाई तालिम दिएर मात्र पुग्दैन उसलाई मेसिन र केही बिउ पुजी पनि हामीले दिने गरेका छौं ।

तपाई गैडाकोट नगरपालिकाको प्रमुख भएदेखि गैडाकोटमा खुल्ला विश्वविद्यालयको कुरा जोडतोडका साथ उठाउनु भएको थियो त्यो कहाँ पुगेको छ ?

खुल्ला विश्वविद्यालयको कुरा अझै टुंगोमा पुगेको छैन तर हामी लागि परिरहेका छौं । हामीले अन्तराष्ट्रिय स्तरको विश्वविद्यालय निर्माणका लागि जोड गरेको छु । हामी नेपाली बाहिर पढ्न जान्छौं भने बाहिरका नेपाल आएर पढ्न किन हुन्न । त्यसैले अन्तराष्ट्रिय स्तरको विश्वविद्यालय खोल्नका लागि संघीय सरकारसमक्ष पहल गरिरहेको छु । अहिलेको शिक्षाको कुरा गर्दा प्राविधिक शिक्षा अर्थात सिप मुलक शिक्षामा हामीले जोड दिएका छौं ।

तपाईको नगरपालिकामा प्रमुख र उपप्रमुखबीच बहुमत र अल्पमतको कुराले व्यापक चर्चा पाइरहने गरेको छ, तपाईहरुबीचको विवाद के हो ?

नेपालको अहिलेको संवैधानिक व्यवस्था अनुसार नगरपालिकाको कार्यकारी अधिकार नगरप्रमुखलाई छ । प्रमुख, उपप्रमुख, वडाध्यक्ष, नगरकार्यपालिका सदस्य, नगर सभासदको क्षेत्रअधिकार आआफ्नो छ । नगरपालिकामा प्रमुख एउटा हुने होला नि दुई वटा त होइन । सबैको अधिकार स्थानीय सरकार सञ्चालन ऐनमा तोकिएको छ । तथापि केही साथीहरुलाई के लाग्यो भने बुहुमत अल्पमतको आधारमा संख्याको आधारमा नगरप्रमुखको केही काम मैले गर्न पाएँ हुन्थ्यो भन्ने लागेको हो । कार्यक्षेत्रको हस्तक्षेप गर्न खोजेर हुन्न । म नगरप्रमुख भएर यो कुर्चीमा रहँदासम्म मैले यो पदको मर्यादा राख्ने हो । तपाईहरुले पनि देख्नु भयो ४, ५ पटक बहुमतको आधारमा बेठिक तरिकाले आवाज उठाउनु भयो । तर म कसैको अधिकार क्षेत्रमा पनि हस्तक्षेप पनि गर्दिन्न र गर्न पनि दिन्न ।

बहुमत र अल्पमतको झगडाले समृद्धका कुरा, आत्मनिर्भरका कुरा त पुरा नहोला नि ?

कुनै बाधा अवरोधका साथ काम गर्न पाएको भए अझ राम्रो गतिमा अघि बढ्न सकिन्थ्यो यसमा दुई मत भएन । पटक पटक नगरपालिकाको विवाद बाहिर आयो भने संघीय सरकार, प्रदेश सरकार, दातृ निकायले हेर्ने दृष्टिकोणमा फरक त आउँछ । यो यर्थाथ हो । जहाँ मेल छ जहाँ विश्वास छ त्यहाँ अझ राम्रो काम गर्न सकिन्छ । उहाँहरुको जुन बुझाइ छ काम गर्न छेकेर शासकमा टिक्न सक्छु भन्ने सपना चक्नाचुर भएर जानेछ । जति बाधा व्यवधान आएपनि म काम गर्ने कुरामा विकासको गति तिब्रतर रुपमा अगाडि बढ्ने छु । गैडाकोट नगरपालिकामा ६० बर्षको अन्तरालमा नभएको विकास ५ बर्षमा गरेर देखाउने छु ।



सम्बन्धित
Loading...