दाङमा एउटै सर्पले टाकेर एकै घरका दिदी बहिनीको मृत्यु
दाङ, साउन २४ । दाङमा एउटै सर्पले टाकेर एकै घरका दुई दिदी बहिनीको मृत्यु भएको छ ।
जिल्लाको राजपुर गाउँपालिका वडा नं. ७ भौवा नाका निवासी १० बर्षीया सुजु सार्की र उनकी १३ बर्षीया दिदी कस्मिरा सार्कीको एउटै सर्पले टाकेर मृत्यु भएको छ । उनीहरु दिदी बहिनी स्थानीय शिवशक्ति माध्यामिक विद्यालयमा कक्षा ७ र कक्षा ५ मा अध्यनरत थिए ।
पारिवारीक स्रोतका अनुसार दुबै दिदी बहिनीलाई विहीवार विहान ४/५ बजेतिर सुतेकै ओच्छ्यानमा गएर एउटै सर्पले टोकेको थियो ।
भारतसंग सीमाना जोडिएको विकट क्षेत्र भौवा नाकावाट उनीहरुलाई उपचारको लागि भारतको शिरशियास्थित अस्पतालमा लगिएको थियो । त्यहाँ बाट थप उपचारका लागि बहराईच लैजाँदै गर्दा विहीवार दिउँसो उनीहरुको बाटोमै मृत्यु भएको शिवशक्ति माध्यामिकका प्रधानाध्यापक लिलाधर विकले जानकारी दिए ।
विकट भूमि भौवानाका वाट लमही अस्पताल सम्म आउन झन्डै ६/७ घन्टा लाग्ने गर्छ । तर त्यहाँवाट भारत तर्फ जाँदा भने दुई तीन घन्टामा पुग्न सकिने हुँदा उपचारका लागि भारततर्फ लगिएको प्रधानाध्यापक विकले बताए । स्वास्थ्य, यातायात, संचार लगाएतको सुविधावाट बञ्चित भौवा नाका क्षेत्र जंगल क्षेत्रमा पर्छ ।