सुदुरपश्चिमको शक्तिपिठ मानिने भागेश्वर (धुरा ) जात

418








दिपकराज भट्ट —भागेश्वर




भागेश्वर देवताको मुख्यपूजा वर्षमा दुई पटक हुने गर्दछ । पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् र क्षावन्धनका दिन दिउँसो हुन्छ भने, दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती हुन्छ ।


परिचय ः
भागेश्वर देवता भगवान शिवका पार्षद हुन् । भागेश्वर देवतासँग ‘पासो, ‘कैलपाल, ‘कनवेताल’ ‘कालशैनी’ ‘कल्तडे’ ‘छडी’ र ‘समैजी’ लगायत अन्य सहयोगी देवताहरु पनि रहन्छन् । ‘पासो’ भागेश्वर देवताको प्रमुख द्वारपाल मानिन्छ । डडेलधुरा जिल्लामा पर्ने ग्वान्नी गाउँ लगायत अन्य कैयौं स्थानमा स्थित ‘असिउँ’ देवता भागेश्वरका आफ्नै दाजु हुन् भने कञ्चनपुर जिल्लाको चुरे क्षेत्रमा विराजमान ‘बैजनाथ’ देवता भागेश्वरका भान्जा नाता पर्ने देवता हुन् भन्ने मान्यता रहिआएको छ । डडेलधुरा जिल्लाको माहाभारत पर्वत स्थित भागेश्वरको माणौमा २२ खम्बा (खाम) छन् । द्वापरयुगको अन्त्यतिर यस उच्च शैल शिखर क्षेत्रमा भागेश्वर आउँनु भन्दा अगावै आफ्नो वनबासकालको क्रममा पञ्चपाण्डवहरु यसै भागेश्वरको धुरा हुँदै जाँदै गर्दा उनिहरुलाई पानी पाइएन । त्यसपछि त्यसै धुरामा वीर पाण्डव भ्राता अर्जुनले खड्ग प्रहार गरेर पानी निकालेका थिए भन्न्ने कथानक छ । खड्गबाट जल निकालिएको हुनाले त्यो जल भएको ‘न्वालो’ लाई आजभोली ‘खड्गेन्वालो’ पनि भन्ने गरिन्छ । त्यो न्वालाको पानी लाई काँसीको जल समेत भन्ने गरिन्छ र गँगोत्रीको जल समान पवित्र मानेर यसै जलले भागेश्वरको पुजा तथा अन्य आवश्यक कार्यहरु गर्ने गरिन्छ । त्यसैगरी भागेश्वरको ‘रतीघाट’ भन्ने स्थानमा पनि पुजा हुने गर्दछ । यो स्थान रुपाल गाउँ विकास समिति वार्ड ३ नौतडीका भारद्वाज गोत्रीय जोशी ब्राह्मणहरुको जग्गामा पर्दछ । हाल आएर भागेश्वर देवताको पुजा डोटीको निरौली, गड्सेरा र बेल्टुक्रा गाँउमा पनि हुने गर्दछ । किनभने डडेलधुराको रुपाल गा.वि.स.मा –(हालको भागेश्वर गाँउपालिका)पर्ने रोल्ली गाउँबाट निरौला भण्डारी,जोशी र गड्सेरी भट्टहरु बसाइसर्दै देशका कैयौं भागमा गएर बसेका छन् ।

अवस्थीति ः
यी देवताको प्रमुख मन्दिर डडेल्धुरा जिल्लाको हालको भागेश्वर गाँउपालिका साविकाको भागेश्वर गाउँ विकास समितिको माहाभारत (धुन्ध)ुपर्वतमा पर्दछ , यस पर्वतलाई भागेश्वरको धुरा पनि भन्दछन् । यो धुन्धु पर्वत समुद्र सतहदेखी २००२ मिटर अग्लो शिखर स्थानमा छ । यस धुराको पुर्वमा डडेल्धुरा जिल्लाको गाङ्खेत गाउँ विकास समिति, पश्चिममा डडेलधुरा जिल्लाको रुपाल गाउँ विकास समिति, पश्चिम उत्तरमा साविकको हालको वार्ड नं ३ भागेश्वर गाउँ विकास समितिको वार्ड नम्बर ४, उत्तरमा साविकको बगरकोट गाउँ विकास समिति, र दक्षिणमा डडेल्धुरा जिल्लाकै साविकको शीर्ष गाउँ विकास समितिको वार्ड नम्बर २ पर्दछन् । महाकाली पारी भारत उत्तराञ्चलमा पर्ने पूर्णा्गिरी भगवतीको मन्दीर पनि यहाँबाट नजिकै पर्दछ ।

भागेश्वर देवताको उत्पत्ती सम्वन्धी कथा
ः लगभग चौधौं शताब्दी तिर डोटी क्षेत्रमा पर्ने अजयमीरकोट राज्यमा राजा नागी मल्लको शासन चलिरहेको थियो । यो राज्य जुम्लाराज्य अन्तर्गत पर्ने सामन्त राज्य थियो । त्यतिबेला अहिलेको डडेलधुरा जिल्लाको साविको रुपाल गा.वि.स. हालको भागेश्वर गाँउपालिका मा पर्ने ‘रोल्ली’ र ‘ग्वान्नी’ गाउँबाट ‘गुणाकर जोइसी’ र ‘कमलाकर भाट’ नाम गरेका दुई जना मित भाईहरु ‘गयाँ’ तीर्थमा स्नान गर्न भनी हालको भारतको विहार राज्यमा पर्ने गयाँका लागी प्रस्थान भए । साइँत गर्दा पहिलो दिन पालुङ्गोको तरकारी बारीमा बास बसेर दोस्रो दिन गयाँका लागि प्रस्थान गरे । गयाँ तीर्थमा उनिहरुलाई त्यहाका पण्डाहरुले प्रसाद दिदै गर्दा एउटा सुनको कटोरा (प्याउली) पनि प्रसादका संङ्ग–संङ्गै उनिहरुको हातमा आयो । त्यहाँ भागेश्वरदेवता संङ्ग पनि उनिहरुको साक्षत्कार भयो ।
त्यतिबेला गयासुद्दीन तुगलक नाउगरेको मुसलवान शासक दिल्लीको बादशाह थियो । उत्तर भारतका समस्त राज्यहरु दिल्लीराज्य अन्तर्गत पर्दथे । त्यतिबेला भारत विजय गरिसकेका मुसलवान शासकहरुले हिन्दुहरुमाथि धर्मान्तरणको निहुमा चरम अत्याचार गरिरहेका थिए । त्यसैले हिन्दुहरु आफ्नो सनातन धर्म र संस्कृति बचाउँन कैयौँ ठुल–ठुला नदीहरु पार गर्दै यस हिमालय प्रदेशमा आइरहेका थिए । तिनिहरुका संगै ती स्थानमा रहेका देवी–देवताहरुपनि आफ्ना भक्तहरुका साथ नेपाल तथा भारतमा पर्ने दुर्गम हिमाली प्रदेशमा आइ रहेका थिए । ती दुबैभाइहरु घर फर्किदा त्यसै सुनको कटोरा (‘प्याउलि’)मा भागेश्वर,असिउ र बैजनाथ देवताहरुपनि उनिहरुका साथ–साथ यस क्षेत्रमा आएका थिए भन्ने कुरा भागेश्वरको ‘चैत, (गमरा तथा अन्य पर्बमा गाइने र खेलिने सांस्कृतिक गीत) बाट थाहा पाउँन सकिन्छ । ति दुबै भाइहरुले घर पुग्नुभन्दा अगाडी डडेलधुरा जिल्लामा पर्ने परशुराम तीर्थ क्षेत्रमा पञ्चरात्रि बिताएका थिए । पञ्चरात्रि विताउँदैगर्दा उनिहरुका साथमा आएका ‘भागेश्वर’ ‘असिउँ र ‘वैजनाथ’ देवताहरुले पनि अब कस्ले कहाँ–कहाँ निवास गर्ने भन्ने विषयमा सर–सल्लाह भयो । असिउँ देवता भागेश्वरका जेठा दाजे मानिन्छन् भने बैजनाथ देवता यि दुबै देवताहरुका भान्जा नाता पर्ने देवता हुन् । सल्लाह अनुसार भान्जा बैजनाथ देवताले कञ्चनपुर जिल्लाको उत्तर चुरे क्षेत्रमा बस्ने भए भने असिउ देवताले डडेलधुरा जिल्लाको ग्वान्नी भन्ने ठाउँमा बसोबास गर्ने सल्लाह भयो । त्यसैगरी भागेश्वर देवताले भने सल्लाह भए अनुसारको आफुले जानुपर्ने ठाउमा नगई खुसुक्क भागेर अहिलेको डडेलधुरा जिल्लामा पर्ने धुन्धुपर्वत भागेश्वर शिखर स्थानमा गएर शिलारुपमा परिणत भइ निवास गर्न थाले । यसरी अज्ञात किसिमले भागेर शिखर स्थानमा गएका हुनाले उनको नाम ‘भागेश्वर’ रहन गएको हो ।
यस शिखर स्थानमा भागेश्वर देवता आएर विराजमान भएको सर्बप्रथम कालिका देवीले देखेकी थिइन् । त्यसैले कालिका भगवती भागेश्वर भन्दा पहिलेकी मानिन्छन् । साथै–साथै त्यस शिखर स्थानमा भागेश्वर देवता आएर निवास गरि रहेको कुरा ‘ग्वान्नी’ क्षेत्रमापर्ने ‘किरोड’ गाउँमा बस्ने एक्जना ‘त्रिवड’ भन्ने ‘लोहार’ जातीको घरमा रहेकी एउटा ‘कैलु’ गाइले पनि थाहा पाएकी थिइन् । ती गाइ नित्य बिहान त्यो शिलामा गएर आफ्नो दुध चढाउँथिन् र साँझ चरेर घर फर्कि्न्थिन् । यो क्रम निरन्तर चल्न थाल्यो । बन जाँदा गाइका थुन केलाका कोसा जस्तै हुन्थे भने घर फर्किदा ओइलिएर नरम भएका हुन्थे । गाईहरु हेर्ने जिम्मा उमल्लेक गाउँमा बस्ने एक् जना गोठालो लाई दिइएको थियो । वनबाट फर्किएपछि ती कैलु गाईले दुध न दिएपछि गाइकि मालिकिनीले ‘उमल्लेकी’ गाउँमा बस्ने गोठालालाई “बाच्छाको मुख मारेर बनमै दुध दोएर खान्छस्” भन्ने अभियोग लगाउदै कुच्चाका ठुटाले प्रहार गर्न थालिन् । आफुलाई दैनिक झुट्टा आरोप लाग्न थालेपछि गोठालो धेरै चिन्तीत भयो । उसले त्यसैदिन देखी गाइको कडा चियो गर्ने निश्चय गर्यो । रात परेपछि गोठालाले गाई लाइ भित्र गोठमा बाँधेर आफु दैलो नजिकै विस्तर लगाएर सुत्योे । प्रातः ब्रह्ममुहुर्तको समयमा गाइको बन्धन आफै खुल्यो । गाइ बाहिर निस्किएर गए पछि गोठालो पनि एउटा ठूलो हसिया हातमा समातेर गाइको पछि–पछि लाग्यो । गाइ सिधै भागेश्वर शिखर स्थानमा पुगेर भागेश्वरको लिङ्गलाई चारखुट्टाको विचमा पारी अविछिन्न दुग्ध धारा बगाउँन थालिन् । त्यो दृश्य देखेपछि गोठालो छक्क पर्यो । उसले बाच्छाको मुख मारेर दुध पिउने यही शिला रहेछ भन्दै आवेसमा आएर आफुसंङ्ग भएको हँसियाले त्यस लिङ्गमाथि जोरले प्रहार गर्यो । त्यस पछि लिङ्गबाट अविरल रगतको धारा बग्न थाल्यो । गाई त्यहाँबाट तर्सेर आफ्नो गोठमा आइ आत्महत्या गरि मरिन् र शिलारुपमा परिणत भइन् भन्न्ने किंबदन्ती छ । त्यो शिला अझैपनि किरो गाउँ छदैछ । तर भागेश्वरको चैतमा भने गाइ त्यहीबाट अपल भएको भन्ने कथानक छ । गोठालो पनि तर्सिएर भाग्दै गर्दा ‘द्वारीको ओरालो’ भन्ने ठाउँमा पुगेपछि त्यहींबाट अलप भएको थियो भन्न्ने कुरा भागेश्वरको चैतमा उल्लेख गरिएको छ । त्यसैदिन देखी किरोड गाउँमा बस्ने लुहारहरुलाई भागेश्वरको गाथमा पुजा हुँदा मन्दिर नजिकै रहेको ‘अखेडा’ भन्ने ठाउँमा स–सम्मान बस्न लगाई भागेश्वर देवताको मुल प्रशाद दिने परम्परा रहि आएको छ ।
त्यो घटना घटेको दिन गुणाकर जोशी र कमलाकर भाट, बिहानको नित्यकर्म स्नान–संध्या इत्यादी गर्न नदी घाटमा गए । स्नान पछि दुबैहातले सूर्यअघ्र्य दिदै गर्दा गुणाकर जोशीको अघ्र्यमा रगत देखा पर्यो । उनले यसलाई अपशकुनको रुपमा लिए । गुणाकर जोशीले आफ्ना मितभाइ कमलाकर भाटलाई इङ्गित गर्दै भने “ हेर भाई कमलाकर मेरो अघ्र्यमा रगत देखा पर्यो, यो पक्कै पनि कुनै अपसकुन भएको पूर्व सूचना हो । हाम्रा आफन्तीहरु पन्त–पनेरुहरुको या शुभ चिन्तकहरु मध्येका देउबा र बोगटी हरुका बीच काट–मार भएको हुन सक्छ । त्यस्तै साउन–कठायत,वा भट्ट– भण्डारीहरुका बीच पनि काट–मार भएको हुन सक्छ । त्यसैले पहिले भात खाने की मारकाट भएको ठाउँ पत्ता लगाएर त्यहाँ जाने ? के गर्ने भाइ ! पहिले मारकाट भएकै ठाउँमा जाऔं हैन ? त” भनी प्रश्न गर्दा कमलाकर भाटले “तपाई हिड्नुहोस् दाजु मलाइ असाध्यै भोक लागी सक्यो म भात खाएर आउँदै गर्छ‘” भन्दा गुणाकर जोशी रगतको पिछा गर्दै शिखर तिर लागे भने कमलाकर भाट घर आइ भात पकाउनतिर लागे । उनले पकाएको भात सेता किराहरुका रुपमा रुपान्तरण भयो भने दाल रगतै–रगत भएको (रगतानी) मा परिणत भयो । त्यो विचित्र घटना देखेर विस्मित भएका कमलाकर भाट पनि तुरन्त खाना नखाइ रगतको पाइलो पछ्याउँदै भागेश्वर शिखर स्थानतर्फ प्रस्थान गरे ।
त्यहाँ भागेश्वर शिलाबाट अविरल रगतको धारा बगिरहेको दृश्य देखेपछि दुबै मितभाइहरु विस्मयमा परे । त्यो रहस्य सुल्झाउन र बगिरहेको रगत बन्द गर्न मन्त्र विद्यामा निष्णात् गुणकर जोशीले तुरन्त भगवान सूर्य, भागीरथी गंङ्गा, अमृत कलश, बड–पीपल, दुई जोडी नाग–नागीन, र छैठौंमा भागेश्वर देवताको आवाहन गर्न आकर्षण मन्त्र पढे । त्यसपछि ती देवशक्तिको कृपाले उनलाई घटनाको सबै सत्य–तथ्य बोध भयो । त्यसपछि उनले आफ्ना मित भाइ कमलाकर लाई हेर्दै भने “सुन भाइ कमलाकर, हामी गयाँ स्नान गर्न भनि गएका थियौ, त्यहाँ हाम्रो जुन देवता संङ्ग साक्षात्कार भएको थियो उनै भागेश्वर देवता यहाँ यस शिखर स्थानमा पुगिसकेका रहेछन् । यो रगत तिनकै पार्थिव शिलाबाट बगिरहेको बुझ” ।
त्यसपछि ती दुबै भाइहरुले त्यो बगिरहेको रगत बन्द गर्न भागेश्वर देवताको स्तुति गर्न थाले । हे गोसाइ भागेश्वर ! हजुरको र हाम्रो गयाँ तीर्थमा भएको मित्रताको सर्त (साँख–भाँख) साक्षी छ , यो बगि रहेको रगत तुरन्त बन्द होस् । हे गोसाई भागेश्वर ! हामी तपाइँको लागी यसै क्षेत्रमा प्वारीका ढुङ्गाबाट बनेको ‘नाउँलो’ बनाउँन लगाउँने छौ , बाइस खम्बा भएको मण्डप बनाउँने छौ, त्यस मण्डपलाइ तामाका पत्रहरुले छाउँने छौ , यस परिसरमा जजोलाका सालहरुबाट बनेको निसान खम्ब पनि गाढ्ने छौं , मण्डपलाई तुषारीका पथ्थरले छपान गर्ने छौ , गरङ्गगाका सालहरुबाट बनेको भितो मगाउँने छौ , किरोडीका लुहारहरुले बनाएका किलाहरु ल्याएर दुदिले रावलद्वारा ठोकाउँन लगाउँने छौ । तपाईको प्रसन्नताका लागी यस पवित्रगाथमा काली कैलु गाइको दान गर्नेछौ ,देउवmाकी द्यौ कन्या बाट तपाइँको चवर हाक्ने प्रवन्ध मिलाउँने छौ, त्यसैले यो बगिरहेको रगत तुरन्त बन्द होस् ।
यति भन्दापनि बगिरहेको रगत न थामिएपछि फेरी ती दुबैभाइहरुले विन्ती चढाउँन थाले हे गोसाई भागेश्वर ! ‘चौधसय डोटी’ बाट र ‘बाइसपाटा कुमाउँ’बाट तपाइको पुजा–आजाको लागी ‘शिख’ उठाउँने प्रवन्ध मिलाउने छौ । ‘बुडाचाडी’ ‘भाट’ बाट हजुरको डोली बोक्ने प्रवन्ध मिलाउँने छौ । हजुरको जाँतमा बाइस मन अक्षता बाट पुजा लगाउँने छौ । त्यस्तै गरेर (डुङरी) ‘चटौत’ थर भएका ब्राह्मण द्वारा बाइसमन घ्यू र जौ र तीलद्वारा हवन गराउँने छौ । सिरोडीका ब्राह्मणहरुबाट हजुरको पूजा लगाउने प्रवन्ध मिलाउने छौ । अन्तबाट प्राप्त हुने कैलु गाइहरुलाइ बाइस खाममा र किरोडी गाउँबाट प्राप्त हुने कैलुगाइलाइ हजुरको गाथ भित्र दान गर्ने छौ । तपाइँको पवित्रगाथलाई गाइको दुधले स्नान गर्ने छौं । हे गोसाई भागेश्वर ! यो बगिरहेको रगत तुरन्त बन्द होस् ।
जति प्रार्थना गर्दा पनि रगत नथामीए पछि अन्तमा गुणाकर जोशीले आफ्नो कान्छी औलालाइ काटेर रगत निकाली त्यस रगताम्य शिलामा चढाए पछि मात्रै रगत बग्न साम्य भयो । यहाँ शिलामा रगत चढाइनुको कारण यस्तो हुन सक्छ ः पहिलो कारण मेरो बाँकी जीवन हजुरलाइ बलिदान भयो भन्ने हुन्छ । यानेकी अव उप्रान्त म आफ्नो शेष जीवन तपाइका निम्ति जिउनेछु भन्ने हुन्छ । दोस्रो भागेश्वर देवता को बगिरहेको रगतमा उनले आफ्नो रगत पनि मिस्याएर प्रतिकात्मकरुपमा भागेश्वर देवता संङ्ग भाइ–भाइको जस्तै रगतको नातासम्वन्ध स्थापित गर्न खोजेका थिए । यसरी रगतबग्न साम्यभए पछि गुणाकर जोशी र कमलाकर भाटले सन्तान दरसन्तान आफुले गरेको सर्त अनुसार पुजा–आजा र जात्रा चलाएका हुन भन्ने किंम्बदन्ती छ । यो परम्परा अहिले सम्म पनि निरन्तररुपमा चल्दै आइरहेको छ ।
रिति–स्थीति
यस स्थानमा २२ पाटा कुमाऊँ, २२ मढ, तथा २२ गाउँबाट पुज–पोखल ल्याएर भागेश्वरको पूजाआजा गर्ने चलन चलि आएको छ । २२ गाउँका ढुङ्गा, पथ्थर, काठ, नगद–जिन्सी र मिस्त्री सहितका बस्तुहरु ल्याएर भागेश्वरको मन्दिर निर्माण सहितका काम गर्नुपर्दछ । यहाँ जाँत हुँदा भागेश्वर देवताको देउरो पनि २२ स्थानबाट आउँछ । कालशैनी, घटाल र विभिन्न स्थानका भागेश्वर देवताको गाँज÷देउरो भागेश्वरको जाँतमा आउँछ । रुपालका ‘भारद्वाज गोत्रीय जोशीको बोल भागेश्वरको अवोल’ भन्ने लोकोक्ती पनि रहेको छ । भागेश्वर देवताको पहिलो दर्शन रुपाली भारद्वाज गोत्रीय जोशीहरुले गरेपछि मात्रै अन्य भक्तहरुले दर्शन पाउने परम्परा रहि आएको छ । यी जोशीहरुको अग्रज पुस्तालाई ‘निरौला भण्डारी’ पनि भन्दछन् । जो डोटी जिल्लाको निरौली गाउँका वासिन्दा हुन् । कालान्तरमा यिनिहरु अछामको गुयलापानी,डोटीको गड्सेरा, बेल्टुक्रा (जोरायल) र कर्णाली पारीका कैयौ जिल्लाहरुमा समेत बसाइसर्दै गएको इतिहास छ ।

पुजालाग्ने समय ः
–भागेश्वर देवताको मुख्यपूजा वर्षमा दुई पटक हुने गर्दछ । पहिलो पूजा ‘श्रावण शुक्ल पूर्णीमा’का दिन अर्थात् रक्षावन्धनका दिन दिउँसो हुन्छ भने, दोस्रो पूजा ‘कार्तिक शुक्ल चतुर्दशी अथवा वैकुण्ठ चर्त‘दशी’का दिन राती हुन्छ । त्यस्तै गरेर ‘माघशुक्ल पूर्णिमा’ र ‘वैशाखशुक्ल पूर्णिमा’का दिन पनि यहाँ पूजा–आजा हुने गर्दछ । माघ शुक्लपूर्णिमाका दिन भारत उत्तराञ्चल राज्यमा पर्ने ‘सोर कुमाउ’बाट ‘भट्ट’ र ‘महरा’ थरका भक्तहरु यहाँ आएर पूजा गर्ने गर्दछन् । त्यतीबेला ‘लाकम’गाउँका ‘कुमैयाँ जोशी’ (जैसी ब्राह्मण) हरुले लठ्ठी समातेर भागेश्वरको मन्दीरको द्वारमा उभिएर द्वारपाल हुँदै पहरादिने परम्परा रहि आएको छ ।

जात्रा व्यवस्थापनको कार्य विभाजन
ः यस स्थानमा ‘सिराड’ गाउँका पुजाराले पूजाको व्यवस्थापन गर्न‘ पर्ने र ‘चटौत’ ब्राह्मणहरुले पूजा,हवन इत्यदीको कर्मकाण्ड गराउनु पर्ने परम्परा रहि आएको छ । स्थानीय उपाध्याय जोशी, पन्त,चटौत र भट्ट ब्रह्मणहरु २२ खाम भित्र बसेर पाठ गर्न पाउँछन् भने अन्य ब्राह्मणहरुले आफ्नो सुविधा अनुसार मन्दिर परिसरमा अन्यत्र जहाँ कहि बसेर पाठ गर्दछन् । यहाँ कश्यप गोत्रीय चटौत ब्राह्मणहरुबाट पूजापाठ का साथै रुद्री पाठ पनि गराउँने गरिन्छ भने ‘पूजारा’ थरका जैशी ब्राह्मणहरु बाट अन्य आवश्यक सबै कुराको व्यवस्थापन कार्य हुने गर्दछ । भित्र पूजा हुँदा ‘चिपुरमण’ का ‘विष्ट’ थरका फौदारले भागेश्वरको मन्दीरको द्वार वा ढोकामा ‘नाङ्गो खुकुरी’ लिएर सतर्कभइ पूजा नसकिदा सम्म चौकिदारी गर्दै उभिरहनुपर्ने परम्परा रहि आएको छ । भागेश्वरका जात्राका दिन आउँने पुज–पोखल,भेटी चन्दन, अक्षता, धुप, फलफुल इत्यादीको व्यवस्थापन ‘रुपाल’ गाउँका ‘मडै’ क्षेत्रीहरुले गर्ने परम्परा छ ।

जात्राका मुख्यकर्ता
यस भागेश्वर शिखरमा अवस्थित भागेश्वर देवता प्राचीन कालमा ‘गुणाकर जोशी ’ र ‘कमलाकर भाट ’ ले भारतको गयाँ बाट ल्याएका हुनाले अहिले पनि गुणाकर जोशी र कमलाकर भाटका सन्ततिहरुले मात्रै मन्दिर भित्र पुजा हुँदा कर्ताको रुपमा यज्ञमा बस्न पाउँछन् । कदाचित जुठो–सुत्केरो अथवा अन्य कारणले गर्दा यिनिहरुको अनुपस्थिति भएको खण्डमा डडेलधुरा जिल्लाको टाँटर गा.वी.स. ‘टाँटर’ गाउँका उपाध्याय ‘जोशी’ ब्राह्मणहरु र डोटी निरौलीका ‘निरौला भण्डारी’ हरुले यज्ञमा कर्ताको रुपमा बस्नुपर्ने हुन्छ । पूजाहुँदा पहेलो र सेतो रङ्गका शुद्ध पूजा सामग्रीहरु मात्र चढाउनु पर्ने नियम रहि आएको छ । रातो तथा कालो रंग भागेश्वरलाई नचढ्ने भएका कारण श्रीखण्डको चन्दन बाट मात्रै पूजा लगाइन्छ ।

भागेश्वर देवताको राजा नागीमल्लसंग भएको विवाद
त्यतिबेला यसक्षेत्रमा राजा नागी मल्लको शासन थियो । राजा नागीमल्ल काम्ने धामिहरुको कठोर परिक्षा लिने गर्दथे । यो परीक्षा लिइदा उनि आफ्नो कोटको उच्चो स्थानमा रहेको चाक्लो ढुङ्गोमा रिठाका गुठुलिहरु बिछ्याउथे । त्यसमाथि आसन लगाइ धामहिरुलाइ बस्न भन्दथे र काम्न लगाउथे । यसरी काप्दा धामीहरु त्यहाँबाट चिप्लीएर तल नदिमा परि मर्दथे । तर देवताको शक्ती सम्पन्न धामीहरुलाई भने केहि हुँदैन थियो । यसरी उनले धेरै धामीहरुको मृत्यु गराइ सकेका थिए । यस्तो अनुचित कार्य गर्दै आएकोे देखी यसक्षेत्रका भागेश्वर, कोलासमैजी, वीरबेताल लगायत देवी–देवताहरु राजा नागीमल्ल संङ्ग क्रोधित भएका थिए । यसै क्रममा एकदिन भागेश्वर देवताले यस्तो अनुचितकार्य तुरन्त रोक्नु भनी राजा नागी मल्ललाई सन्देस पठाए । तर अहंकारमा चुरभएका नागीमल्लले त्यो आदेशको अवज्ञा गरे । त्यसै दिन देखि उनी भागेश्वर देवतासंङ्ग द्वैशभाव राख्न थाले । उनि भागेश्वर देवतासंग “त देवता होइनस्, म तलाई मान्दैन, त भन्दा म ठूलो हुँ” भनी अनादर गर्न थाले । त्यसपछि भागेश्वर देवता पनि राजा नागीमल्लसंङ्ग रिसाए । नागी मल्लकोे दरवारमा अनिष्ट हुन थाल्यो । पुरै दरवार भुइँचालो गए जस्तै गरी काप्न थाल्यो । उनकी रानी पनि काप्न थालिन् । रानीकोे गर्भ बाह« महिना हुँदा समेत प्रसब नहुने भयो । प्रसब भएपनि सन्तान नबाँच्ने भयो । त्यस्तै घोडाहरु चौध महिनामा ब्याहुन हुन थाले । उतिबेला राजा नागीमल्लले चिनाउँदै गरेको कोट (किल्ला) को दिवार दिनभरी लगाएर हात्भरी सम्म चिनाउँदा अर्को्दिन बिहान हेर्दा बेत् भरी मात्रै देखिन थाल्यो । त्यस्तै गरेर कम्मर सम्म चिनाउँदा दोस्रोदिन घुँडासम्म मात्रै रहेको पाइयोे । राती भएपछि दरवारमा एकमन सम्मका दर्शनढुङ्गाहरुको वर्षा हुन थाल्यो । यस्तो उत्पात हुन लागेपछि राजा नागी मल्ल असाध्यै डराए । लाचार भएका उनले अजयमीरकोट दरवार परित्याग गरी जोगी भएर हालको आछाम जिल्लामा गएर बस्न थाले । त्यहाँ एक् जना मौद्गल्य गोत्रीय प्रीतम तिमल्सेना भन्ने ब्राह्मण बस्दथे । उनकी दिव्यश्वरी नाम गरेकी वाल विधवा छोरी थिइन् । निःसन्तानी राजा नागी मल्लको तिनै दिव्यश्वरी संङ्ग अवैधानीक सम्वन्ध भयो । त्यो सम्वन्धबाट एक् वालक जन्मियो । वालकको नाम रिपुमल्ल मल्ल राखिएको थियो । इतिहासमा उन्लाई जिवित मल्ल भनेर पनि उल्लेख गरिएको छ । केही समयपछि राजा नागीमल्लको त्यहीँ आछाममै निधन भयो । उन्को निधन पछि वालक रिपुमल्लको संरक्षण जुम्लाका सिंजापति राजाबाट हुन थाल्यो । किनभने त्यतिबेला जुम्लाराज्य यो पुरै सुदूरपश्चिम क्षेत्रको ठूलो राज्य थियो । बाँकी स–साना राज्यहरु जुम्ला राज्यलाइ कर बुझाउँथे । दोस्रो राजा नागीमल्ल सिंजापति राजाका ज्वाइ नाता पर्दथे ।
नागीमल्लको मृत्यु भएपछि अजयमीरकोट राज्यमा सिंह,पाल,चन्द र बोहराथरका भारदारहरु पालै पालो त्यहाँका राजा भए । तर जो राजा भएपनि ज्याँदा न बाँच्ने भए । एकदिन अजयमीरकोट राज्यका वरिष्ठ नागरीकहरुलाई र सबै भारदारहरुलाई एउटै प्रकारको सपना भयो । सपनामा कुनै अज्ञात शक्ति द्वारा राजा नागीमल्लको सन्तानमात्र यो राज्यको राजगद्दीमा बस्न पाउँने र उन्को वालक सन्तान जुम्ला दरवारमा रहेको कुरा अवगतग गराइएको थियो । साथै वालक राजकुमारको दाहिने हातमा सूर्य्चिन्ह अंङ्कीत रहेको जानकारी समेत गराएको थियो । यो कुराको परिक्षा लिइयो । सही पाइएपछि वालक रिपुमल्ललाइ अजयमीरकोट ल्याइ राजा बनाइएको थियो भन्ने कुरा इतिहासमा उल्लेख गरिएको छ ।
अजयमीर छोड्नु भन्दा अगाडी राजा नागीमल्लले आफुले भागेश्वर देवता संङ्ग गरेको अहंकारको लागि क्षमा माग्दै उहाँकोे शक्तिको सर्बोच्चता स्वीकार गरि ‘तिनमणी खेत, एक् जोडी ‘दाइन–दमाहा’ र एउटा ‘देउकी’ कन्या समेत चढाएका थिए भन्ने मान्यता रहिआएको छ । त्यसै बेला देखी यहाँका विभिन्न मन्दीरहरुमा ‘देउकी’ चढाउँने प्रथा चलि आएको होे भन्ने मान्यता छ ।
अहिले पनि राजा नागी मल्लका वंशज मानिने स्थानीय ‘शाही’हरु तथा ‘मल्ल’ ठकुरीहरु भागेश्वरको जात्राका दिन मन्दिर भएको शिखर स्थानमा जाँदैनन् । उनिहरु जात्राकादिन भागेश्वरको गाथ भएको स्थान भन्दा एक किलोमिटर तल पर्ने ‘द्वारी’ भन्ने ठाउँमा बस्दछन् ।
त्यस्तै एक अर्को प्रसंङ्ग अनुसार राजा नागी मल्लले भारत गढवालमा स्थित ‘केदारनाथ’ देवतालाई आफ्नो चिनो–बानोको स्वरुप ठूलो एकमनको घाँट चढाउँन भनि लैजादै गर्दा भागेश्वर देवताको मुख्य दुत ‘पासो’ देवताले ‘गुनपाल’ भन्ने ठाउँ मा रोकी आफ्नो चमत्कार देखाए । त्यो चमत्कारबाट प्रभावित भएका राजा नागीमल्लले “अब यो घाँट शिव स्वरुप भागेश्वरलाई नै चढाउँछु” भनी ‘डुङरी’ गाउँको देउखलामा राखे । त्यो घाँट धेरै ठूलो र भारी भएकोले तुरन्तै भागेश्वर शिखर लैजान सकिएन । पछि के कारणले त्यो घाँट त्यहि रह्यो थाहा हुन सकेको छैन । अहिलेपनि उक्त घाँट त्यहि रहेको छ भन्दछन् ।

भागेश्वरको गुठि ः
भागेश्वरको गुठि लाइ ‘तिनमणि’ भनिन्छ । यो तिन मणी भनेको डडेलधुरा जिल्लामा पर्ने ग्वान्नी,रुपाल र डुङ्गरी क्षेत्रको भु–भाग हो । वेलतडो , धामी गाउँ, लाकम पाखो, बकरकोट पाखो, द्यौगडो, थिन्तडी खेत, पिपल्लाखेत मन्जडो पाखो, चौकनेताल,पाखो,डुङ्री, रानागाउँमा वैत्तोला माटुलो पाखो, पाखले गडो, ग्वान्नी कीरोड गुठी, डुङ्री रुम्टो, बुढी चारपाखो नामका खेतपाखाहरु भागेश्वरका गुठीहरु मानिन्छन् । अहिले भागेश्वरका भक्तजन कारीन्दाहरु ति जग्गाहरु भोगचलन गर्दै त्यसको करस्वरुप भागेश्वरको पूजा–आजा मा आवश्यक सहयोग गरिरहेका छन् ।

पुग्ने तरीका ः
यस मन्दिरमा पुग्नका लागी अनेकौ बाटाहरु छन् । पश्चिम डोटी क्षेत्रबाट यहाँ पुग्न धनगढी–डडेलधुरा राजमार्गमा पर्ने डडेलधुराको साहुखर्क हुँदै भागेश्वर, चिरकिट्टे हुदै भागेश्वर, बगरकोटको चुल्ल हुँदै भागेश्वर, बगरकोट कै सिराड हुँदै भागेश्वर र रुपाल हुदै भागेश्वर शिखरसम्म पुग्न सकिन्छ ।
अहिले सदरमुकाम डडेलधुरा बाट लाकम बगरकोट सम्म सडक बनिसकेको छ । त्यसैले त्यहाँ सम्म यातायातका साधनहरुबाट पनि पुग्न सकिन्छ । यी बाटाहरुमध्ये चिरकिट्टे हुदै भागेश्वर शिखरसम्म पुग्ने बाटो प्रकृतिको छटा समेत हेर्नका लागी थप उपयुक्त हुनेछ । धनगढी– डडेलधुरा राजमार्गबाट एकै दिनमा भागेश्वर शिखर पुग्ने लक्ष लिएर हिड्ने हो भने तिब्र शारिरिक थकान वा कष्ट हुन सक्दछ । त्यसैले एक दिन बिचबाटोमा कहि बास बस्नु उपयुक्त हुनेछ । यो यात्राको बाटो मा पर्ने स्थानहरु ‘चिरकिट्टे’ ‘रुपाल’ ‘चुल्ल’ वा ‘सिराड’ क्षेत्रमा बास बस्न उपयुक्त हुन्छ ।
यता भागेश्वर गाँउपालिकाले भने भागेश्वर मन्दिर को प्रचारप्रसारका लागि कुनै चासो नदिएको स्थानिहरुको गुनासो रहेको छ । भागेश्वर मन्दिर भागेश्वर गाँउपालिको प्रमुख पर्यटकिय स्थल हो । जसको नाम बाटै गाँउपालिकाको नामाकरण गरिएको हो ।
विभिन्न अनलाईन ऐजेसन्सको सहयोगमा तयार पारिएको लेख ।



You might also like
Loading...