नवलपरासीमा अज्ञात रोगले भैँसी मर्न थाले , किसान चिन्तित

245








कावासोती

साउन ३० -अज्ञात रोगका कारण भैँसी मर्न थालेपछि पशुपालक किसान चिन्तित बनेका छन् ।नवलपरासीको कावासोती नगरपालिका– १०, मगरकोटका पशुपालक कृषक सुमित्रा तिमिल्सिनाको चार वटा भैँसी चार दिनको अन्तरालमा मरेपछि कावासोती क्षेत्रका पशुपालक कृषक चिन्तित बनेका हुन् ।घाँस, दाना सामान्यरुपमा खाइरहेका भैँसी एकाएक मर्न थालेपछि अन्य भैँसीमा पनि क्षति हुने हो कि भन्ने चिन्ता लागेको पशुपालक कृषक सुमित्रा तिमिल्सिनाले बताइन । बुधबार मात्र बिहान र बेलुका गरी दुई वटा भैँसी मरेका थिए । भैँसीमा कुनै लक्षण नदेखिने र एक्कासी मर्ने गरेको उनले बताइन। उनका गोठमा साना ठूला गरि ३७ वटा भैँसी छन् । पिठौली क्षेत्रमा पशुपालक कृषक धेरै छन् । यस क्षेत्र दूधको पकेट क्षेत्रका रुपमा समेत चिनिन्छ ।




एकैछिन झोक्राउने र मरिहाल्ने गरेको तिमिल्सिनाले बताइन । उनका अनुसार उनको गोठदेखि नजिकै रहेको रामबहादुर खड्काको गोठमा एक साताअघि एउटा पाडो पनि मरेको थियो । छिमेकीको पाडोसमेत कुनै लक्षण नदेखिकन मरेको थियो ।‘फुड प्वाइजन’ भएको हो कि भनेर सामान्य औषधि चलाएको भए पनि त्यसले केही नभएको कृषक तिमिल्सिनाले बताइन । उनले पशुसँगै मानिसमा पनि केही हुने हो कि भन्ने चिन्ता लागेको उनले बताइन।भैँसीमा कुनै रोगको सङ्क्रमण भएको हो कि के भएको अझै पत्ता लाग्न सकेको छैन । दक्ष पशु प्राविधिकको अभाव हुँदा समस्या झनै ठूलो बन्ने हो कि भन्ने चिन्ता पशुपालक किसानमा छाएको छ । पछिल्लो समय कावासोती क्षेत्रमा पशुपालक गर्ने कृषकको सङ्ख्या बढेको छ ।

भँैसी मर्ने कारण पत्ता लाग्न नसकेको पशु सेवा उपशाखा कावासोतीका पशु विकास अधिकृत टेकराज पौडेलले बताए । कुनै त्यस्तो लक्षण पनि नदेखिएकाले कुन रोगले मरेको भन्नसक्ने अवस्था नभएको उनले बताए । मरेका भैँसीको रगत र केही भित्री अङ्ग परीक्षणका लागि पोखरा प्रयोगशाला पठाइएको पशु विकास अधिकृत पौडेलले बताए। प्रयोगशालाको नतिजा शुक्रबार मात्र आउने उनले बताए । मरेकासहित अन्य शङ्कास्पद छ वटा भैँसीकोसमेत नमूना परीक्षणका लागि पोखरा पठाइएको छ । नमूनाको नतिजा आएपछि मात्र अन्य भैँसीमा उपचार गर्न सकिने उनले बताए ।

पशुपालक कृषक नवलपुरमा धेरै रहेको भए पनि पशुमा कुनै समस्या आउँदा समयमा परीक्षणका लागि भने समस्या भएको छ । सरकारी पशु प्रयोगशाला नहँुदा निदान र उपचारमा ढिलाइ हुने गरेको उनले बताए। प्राविधिकको अभाव नभएको तर प्रयोगशाला नहुँदा समस्या भएको अधिकृत पौडेलले बताए । नवलपुर क्षेत्रका पशुमा केही समस्या भए परीक्षण गर्ने नजिकको प्रयोगशाला पोखरा भएको हुँदा लैजानसमेत समय लाग्ने गरेको उनले बताए।



You might also like
Loading...