नवलपरासीको अरुणखोलामा पुलमा बनाएको डाइभर्सन पानीले भत्कायो, सवारी साधन विहानदेखि अवरुद्ध


शोभा जिसी,



नवलपरासी, ३१ श्रावण ।




पूर्वपश्चिम राजमार्गको अरुणखोला बजारको अरुणखोलामा ट्रक ठोक्किएर पुल भाँसिएपछि अवरुद्ध भएको सडक खुलाउन बनाइएको डाइभर्सन विग्रिएपछि शुक्रबार विहानबाट पुन यातायात अवरुद्ध भएको छ ।
विहीबार साँझ ६ बजेतिरबाट डाइभर्सन प्रयोग गरेर यातायात एकतर्फी रुपमा सञ्चालनमा आएपनि डाइभर्सनबाट ठूला तथा भारी लोडका सवारी साधन पास हुन नसक्दा यातायात अवरुद्ध हुन पुगेको अरुणखोला प्रहरीले जनाएको छ ।

एक मिनेटमा पास हुने पुलको बाटो अवरुद्ध भएपछि एउटा गाडीलाई पास हुन २ घण्टासम्म समय लाग्ने गरेको छ । विहीबार साँझ डाइभर्सन भनेपछि एक पटकमा एकतर्फी रुपमा ४०/५० वटा सवारी साधन पास गराएको भए पनि पुन डाइभर्सन विग्रिएका कारण यातायात अवरुद्ध भएको छ । अरुणखोलाबाट पूर्वपश्चिम दुवैतर्फ ३/४ किलोमिटर लामो बाटो अवरुद्ध भएको बुझिएको छ ।
अहिले दिनभर कुर्दा पनि यातायात पास हुने पालो आउने नसकेको कारण यात्रुहरु बीच बाटोमा नै अपलपत्र पर्ने गरेको यात्रुहरुले गुनासो गरेका छन् ।
बुधबार पुल भासिएपछि सोही दिन टिप्पर हिड्ने लिगलाई प्रयोग गरेर सवारी साधन पास भएको भए पनि अहिले उक्त लिगबाट गाडी हिड्न छाडेको छ ।

अरुणखोलामा लामो लाइन लागेपछि प्रहरीले शुक्रबार विहानबाट कावासोतीबाट पश्चिमतर्फ जाने सवारी साधनलाई रोक लगाएको छ ।

बाटो अवरुद्ध भएको दुवैतर्फ ७/८ किलोमिटर लामो जंगल भएको र जंगलमा फोन समेत नलाग्ने हुँदा यात्रुहरु आफू जाममा परेको भनेर घरमा समेत फोन नलाग्ने गर्दा निक्कै अप्ठेरोमा परेका छन् ।
सडक डिभिजन कार्यालयले डाइभर्सन निर्माणका लागि अमानतमा ठेकेदारलाई जिम्मा दिएका कारण डाइभर्सन बन्दै भत्कदै गरे नाफा हुने भएको कारण पनि स्थायी डाइभर्सन बनाउनतर्फ चाँसो बढेको छैन ।
कतिपय यात्रुहरुले आफूहरु २४ घण्टादेखि बाटोमा अलपत्र परेको गुनासो गरेका छन् ।

बीचबीचमा हुने जाम खुलाउन प्रहरी र ट्राफिक प्रहरी खासै परिचालन नभएको यात्रुहरुले गुनासो गरेका छन् ।
जंगलको बीचमा रोकिएका यात्रुहरुलाई पिउने पानीको समेत सास्ती भएको छ ।



सम्बन्धित
Loading...