आज कृष्ण जन्माष्टमी, भगवान श्रीकृष्णको पूजा आराधना गरिदैं

हरेक वर्ष भाद्र कृष्ण अष्टमीका दिन यो पर्व मनाउने गरिन्छ । भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको हो ।
ज्ञान, भक्ति र कर्मयोगका प्रणेता कृष्णको पूजाआजा गरी यो पर्व मनाउने गरिन्छ । द्वापरयुगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा कृष्णको जन्म भएको सम्झनामा यो पर्व मनाउने गरिएको जनविश्वास छ ।

मामा कंश लगायतको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट विष्णुको आठौं अवतारका रुपमा श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ ।
धार्मिक ग्रन्थमा उल्लेख भएअनुसार कृष्णले पापका पर्याय बनेका कंशको बध गरी हजुरबुबा उग्रसेन, मातापिता देवकी एवं वासुदेवलाई कारागारमुक्त गराएका थिए ।
बाल्यकालदेखि नै विचित्रलीला देखाएका कृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिना प्रेमोत्सव अर्थात् झुलनोत्सवका रुपमा पनि मनाउने गरिन्छ ।
अन्याय, अत्याचार र दानवी प्रवृत्तिबाट मानव जातिलाई सुरक्षित बनाउने उद्देश्यले विष्णुले मानव अवतारका रुपमा श्रीकृष्ण भई धर्तीमा अवतरण गरेको मानिन्छ । कृष्णले आजीवन सत्यका पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई पे्ररित गरेका थिए ।
आजको दिन मानिसहरु ब्रत बसी राति कृष्ण जन्मिएको सम्झनामा पूजाआजा गर्ने र रातभर जाग्राम बसेर नाचगान तथा कृष्णको भक्ति संगीत गाउँछन् ।
प्रदेश २ मा शुक्रवार सार्वजनिक विदा
कृष्ण जन्माष्टमीको अवसरमा भोलि शुक्रवार प्रदेश २ सरकारले सार्वजनिक बिदाको घोषणा गरेको छ । कृष्ण जन्माष्मीका दिन तराईमा एकदिनपछि विदादिने चलन हुँदापनि भदौ ७ गते शनिवार परेकाले एकदिन अघि नै विदा दिइएको छ । यसअघि तराईमा जन्मको एकदिनपछि मेलाको विदा हुने गथ्र्यो ।
मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना सन्देश जारी गर्दै बिहीबार कृष्ण जन्माष्टमी पर्व हर्सोल्लासपूर्वक मनाउन प्रदेश २ मा सार्वजनिक बिदासमेत घोषणा गरेको जानकारी गराउनु भएको छ ।